सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइएपछि सरकारले उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले देशका ७७ वटै जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै दलको गतिविधिमा संलग्न शिक्षकहरूलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको हो।
पछिल्ला केही दिनयता बैतडी, बाग्लुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट र सल्यान लगायतका जिल्लामा सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भइरहेको भन्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा समाचारहरू सार्वजनिक भएका थिए।
शिक्षकहरूको यस्तो संलग्नता प्रचलित ‘शिक्षा नियमावली, २०५९’ को नियम १३३ को उपनियम (१) को खण्ड (ग) विपरीत रहेको मन्त्रालयले बताएको छ।
मन्त्रालयको विद्यालय शिक्षा शाखाद्वारा निर्णयानुसार जारी पत्रमा भनिएको छ, ‘शिक्षकका त्यस्ता कार्यप्रति थप खोजबिन गर्ने, निगरानी गर्ने र स्थानीय तहसँगको समन्वयमा त्यस्तो आचारसंहिता उल्लङ्घन गर्ने शिक्षकहरूलाई सोही नियमावलीको नियम १३७ को खण्ड (ग) तथा नियम १४३ बमोजिम आवश्यक कारबाहीको व्यवस्थाका लागि निर्देशन गरिएको छ।’
उपसचिव लिलानाथ पोखरेलद्वारा हस्ताक्षरित उक्त परिपत्रको जानकारी मन्त्रीस्तरीय सचिवालय तथा शिक्षा विभाग सानोठिमी, भक्तपुरलाई समेत दिइएको छ।
प्रकाशित: ६ आश्विन २०८३ १८:५३ मंगलबार