सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाल टेलिकमको सेवा प्रवाह र कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
आइतबार नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा पुगेर व्यवस्थापन र कर्मचारीहरूलाई निर्देशन दिँदै उनले जनताबाट ‘टोलमा नेट चलेन’ भनेर आफूलाई सिधै फोन आउने गरेको भन्दै कार्यशैली सुधार्न चेतावनी दिए।
मन्त्री खरेलले टेलिकमको वर्तमान कार्यशैली नसुध्रिए संस्था नै धराशायी हुन सक्ने चेतावनी दिए।
‘मेरो मन्त्रालयमा आउने ८० प्रतिशत गुनासो टेलिकमको हुन्छ। फोन टिपेन, डाटा टिपेन,’ उनले भने, ‘एउटा टोलमा टेलिफोन आएन भनेर मन्त्रीलाई फोन आउँछ यो भन्दा ठूलो विडम्बनापूर्ण कुरा केही हुँदैन।’
उनले नेपाल टेलिकमले आफूलाई सेवा र सुशासनयुक्त कम्पनीको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिँदै संस्था सुधारका लागि मन्त्रालय र सरकारको पूर्ण साथ रहने तर सुशासन र प्रभावकारी सेवा प्रवाहमा कुनै सम्झौता नहुने स्पष्ट पारे।
‘तपाईंका प्रतिस्पर्धी सेवा प्रदायकले दुई दिनमा गर्न सक्ने काम तपाईंहरूलाई सात दिन, पन्ध्र दिन, महिना दिन किन लाग्छ ?’ मन्त्री खरेलले प्रश्न गर्दै भने, ‘अरुले दुई महिनामा एउटा टावर बनाउन सक्छन्, हाम्रो डेढ वर्षमा किन टावर बनेन ? यो जवाफ त चाहियो।’
उनले समयमा काम सम्पन्न नगर्ने र वर्षौंसम्म आयोजना ओगटेर बस्ने ठेकेदारहरूलाई तत्काल कालोसूचीमा राख्न र ठेक्का रद्द गर्न निर्देशन दिए। ‘जसले कामै गरेको छैन, ब्ल्याकलिस्टमा राख्ने, रद्द गर्ने। होल्ड गरेर बस्न पाइँदैन,’ उनले भने।
ग्राहकका गुनासो सम्बोधनमा टेलिकमको चरम लापरबाही रहेको भन्दै मन्त्री खरेलले गुनासो सुन्ने शाखा मृतप्राय भएको टिप्पणी गरे।
उनले भने, ‘नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे भनेजस्तै, टेलिकमका कर्मचारी रहौँला कहाँ, टेलिकम नै नरहे भन्ने अवस्था आउन सक्छ। नेपाल वायुसेवा निगम र जनकपुर चुरोट कारखानाको हविगत नसम्झौं।’
प्रकाशित: २३ कार्तिक २०८२ १८:५३ आइतबार