राजनीति

बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धारको अवस्था बुझ्न जाँदै मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना क्षेत्रको निरीक्षणमा जाँदै छन्।

मन्त्री श्रेष्ठ आज बिहान ९ बजे नुवाकोट हुँदै रसुवामा अवस्थित जलविद्युत् आयोजना स्थल पुग्ने छन्। मन्त्रीको सचिवालयका अनुसार स्थलमार्गबाट नुवाकोट पुगेर मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रमा उद्धार र राहतको अवस्थाबारे जानकारी लिने छन्। बत्ती नपुगेको ठाउँमा वैकल्पिक ऊर्जा सोलारको व्यवस्थापन उपायबारे छलफल हुने छ। मन्त्री श्रेष्ठ त्रिशुलीको बट्टारस्थित क्याम्पमा जाने छन्।

त्यहाँबाट मन्त्री श्रेष्ठ हेलिकप्टरमार्फत रसुवा जाने छन्। त्यहाँ उनले जलविद्युत् आयोजनाको सुरुङमार्ग क्षेत्रमा भइरहेको उद्धारको अवस्था र कठिनाइ, क्षतिको विवरणबारे जानकारी लिने छन्।

त्यहाँबाट फर्केर उनले नुवाकोटस्थित नेपाली सेनाको एकीकृत उद्धार शिविर पुग्ने छन्। शिविरमा उनले उद्धार र राहतको अवस्थाबारे जानकारी लिने छन्।

नुवाकोटमै मन्त्री श्रेष्ठले सुरुङमार्गमा फसेका कमर्चारीहरूको परिवारसँग पनि भेट्ने कार्यक्रम छ।

नुवाकोटमा उनले नेपाल विद्युत प्राधिकरणको टिमसँग छलफल तथा आवश्यक सहजीकरण र निर्देशन दिने मन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: १५ भाद्र २०८३ ०८:३२ सोमबार