राजनीति

मन्त्रालयका सचिवको सट्टा मन्त्रीका सचिव न्युयोर्कमा

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघीय बसोबास (युएन हेबिट्याट) सम्बन्धी कार्यक्रममा मन्त्रालयका सचिव गोपाल सिग्देललाई नपठाई आफ्नै सचिवालयका सचिव सन्तोष पाण्डेलाई पठाएका छन्।

पाण्डे न्युयोर्क पुगी कार्यक्रममा सहभागी भएर फर्किसकेका छन्। कार्यक्रम असार ३१ देखि साउन २ गते (जुलाई १५, १६, १७ र १८) सम्म आयोजना गरिएको थियो। सबैका लागि आवास र पर्याप्त आवास विषयमा छलफल गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो। यो कार्यक्रम हरेक वर्ष हुन्छ। यसअघि यस्ता कार्यक्रममा सहरी विकासमन्त्री र मन्त्रालयका सचिव जाने गरेका थिए।

तत्कालीन सहरी विकासमन्त्री प्रकाशमान सिंह, मन्त्रालयका सचिव मणिराम गेलाल यस्तै कार्यक्रम (वल्र्ड अर्बान फोरम) मा सहभागी हुन २०८१ मंसिरमा इजिप्ट पुगेका थिए। यस्तै कार्यक्रममा भाग लिन तत्कालीन सहरी विकासमन्त्री सीता गुरुङ र मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ केन्या गएका थिए। तत्कालीन सहरी विकास मन्त्रालयका सचिव डा. रमेशसिंह पनि यस्तै कार्यक्रममा सहभागी हुन गएका थिए।

अहिले मन्त्रीको सचिवालयमा भर्ना भएका सचिवसरहका कर्मचारी र मन्त्रालयका सचिवबिच मतभेद सुरु हुन थालेको छ। पूर्वाधार विकासमन्त्रीले न्युयोर्कमा आयोजित उक्त कार्यक्रममा मन्त्रालयका सचिवको सट्टा आफ्नो सचिवालयका सचिवलाई पठाएपछि मन्त्रीको सचिवालय र मन्त्रालयका कर्मचारीबिच दुरी बढेको एक कर्मचारी बताउँछन्।

पाण्डेले पूर्वाधारविकास मन्त्रीको निर्णयबाट आफू अमेरिका गएको बताए। ‘मन्त्रीज्यूको सिफारिसमा अमेरिका पुगेको हुँ। प्रोटोकल मिलाएरै गएको हुँ। मन्त्रीज्यू कार्यव्यस्ताकाका कारण जान सक्नुभएन। उहाँले मलाई सिफारिस गर्नुभएको हो’, पाण्डेले भने, ‘मन्त्रीज्यूका लागि निमन्त्रणा आएको हो। उहाँले आफू नगएर मलाई पठाउनुभएको हो।’

मन्त्रालयका उच्च कर्मचारीले भाग लिनुपर्ने कार्यक्रममा मन्त्रीको सचिवालयका कर्मचारी गएको विषयमा मन्त्रालयका कर्मचारी असन्तुष्ट छन्। ‘त्यहाँ पुगेर घुम्ने रमाउने होइन। त्यहाँ पुगेपछि केही सिक्ने हो। मन्त्रालयका कर्मचारीले केही सिके भने उनीहरूले स्वदेशमा कार्यान्वयन गर्न सक्छन् तर मन्त्रीको सचिवलायका कर्मचारी सधैं त्यही ठाउँमा बस्छन् भन्ने छैन’, मन्त्रालयका एक कर्मचारीले भने, ‘मन्त्रीले आफ्नो सचिवालयका सचिवलाई विदेशमा हुने कार्यक्रममा पठाउन सक्नुहुन्छ। उहाँलाई त्यो अधिकार छ तर यो कार्यक्रममा मन्त्रालयका सचिवलाई पठाएको भए राम्रो हुने थियो।’

पाण्डे असार दोसो साता मन्त्रीको सचिवालयमा सचिवसरहको पदमा नियुक्त भएका हुन्। मन्त्रिपरिषद्ले ‘मन्त्रीहरूको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि–२०८३’ पास गरेपछि मन्त्रीहरूले सचिवालयमा सचिवसरहका सल्लाहकार नियुक्त गरेका छन्। कार्यविधिमा मन्त्रीलाई आफ्नो सचिवालयमा तीनदेखि पाँच जनासम्म विशिष्ट (सचिव) सरहका सल्लाहाकार बाहिरबाट भर्ना गर्न सक्ने सुविधा छ।

कार्यविधिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, पूर्वाधार विकास, कृषि, वन तथा वातावरण मन्त्रालयमा विशिष्ट श्रेणीसरहका एक वैतनिकसहित बढीमा पाँचजना तथा अन्य मन्त्रालयमा विशिष्ट श्रेणीसरहका एक वैतनिकसहित बढीमा तीनजना सल्लाहकार मन्त्रीको सचिवालयमा भर्ना गर्न सकिने व्यवस्था छ। कार्यविधिअनुसार तीनवटा मन्त्रालयमा पाँचपाँचजनाका दरले १५ र अन्य १४ वटा मन्त्रालयमा तीनतीन जनाका दरले ४२ जना मन्त्रीको सचिवालयमानियुक्त हुने छन्।

कार्यविधिअनुसार मन्त्रीहरूको स्वकीय सचिवालयमा भर्ना हुने स्वकीय सदस्यहरूको संख्या २१० हुने छ। एक मन्त्रीले आफ्नो सचिवालयमा सल्लाहकारबाहेक उपसचिवसरहका प्रमुख स्वकीय सचिव, अधिकृतसरहका स्वकीय सचिव, अधिकृतसरहका समन्वय, कार्यान्वयन तथा अनुगमन अधिकृत, नायब सुब्बासरहका सञ्चार तथा जनसम्पर्क सहायक र सुब्बासरहका सहायकस्तरका कर्मचारी भर्ना गर्न सक्ने व्यवस्था छ।

प्रकाशित: ७ श्रावण २०८३ ०६:५१ बिहीबार