राजनीति

भारी वर्षाको पूर्वानुमानपछि मन्त्रीको निर्देशन : अहिले नै अलर्ट भएर काममा लाग्नू

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुट्न निर्देशन दिएका छन्।

पछिल्लो मौसम प्रणाली र सम्भावित जोखिमको अवस्थाबारे जानकारी लिन मंगलबार गृहमन्त्री सुधन गुरुङसहित जल तथा मौसम विज्ञान विभाग पुगेका मन्त्री श्रेष्ठले पूर्वतयारी र पूर्वसूचनामा एकीकृत रुपमा परिचालित हुन निर्देशन दिएका हुन्।

‘पूर्वतयारी र पूर्वसूचनामा एकीकृत भएर उच्च समन्वयमा काम गर्नुस्,’ उनले मौसम विभागका अधिकारीलाई निर्देशन दिए।

मन्त्री श्रेष्ठले गृहमन्त्री मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा एकीकृत समन्वय भई पूर्वतयारी र पूर्वसूचनामा विशेष ध्यान दिनुपर्ने बताए।

‘प्रभावित क्षेत्रमा अहिले नै सूचना सर्कुलेट गर्नुस्। तपाईहरु एकदम अलर्ट भएर वेल कोर्डिनेट भएर लाग्नुस्,’ उनले भने।

कुन क्षेत्र कसरी प्रभावित हुन्छ भन्ने समन्वय गरेर विपद् प्राधिकरणमार्फत पूर्वतयारी जुट्नुपर्ने उनको भनाइ थियो।

मन्त्री श्रेष्ठले यसपटक सरकारले पूर्वतयारी र पूर्वसूचना प्रणालीलाई विशेष जोड दिएको बताए। मन्त्री श्रेष्ठले कृषि, पर्यटन, यातायातलगायत सबै क्षेत्रलाई सतर्कता अपनाउन सरकारको तर्फबाट आह्वान गरे।

‘सरकारको तर्फबाट अनुरोध गर्छु कि यात्रा गर्दा सुसूचित भएर गर्नुस्। चाँडबाँडको बेला छ। कहि पनि यात्रा गर्नुअघि जानकारी लिएर गर्नुस्,’ उनले भने।

मन्त्री श्रेष्ठ सम्भावित क्षेत्रमा पूर्वतयारीका लागि उद्धारकर्मी र सुरक्षाकर्मी तयारी अवस्थामा रहेको बताए।

रसुवाको भोटेकोशी बाढीबाट सिकेर यसपालि पूर्वतयारीलाई विशेष ख्याल गरिएको बताए। ‘मलाई अलिकति चिन्ता के छ भने जुन अस्ति ऊर्जाको हाइड्रोमा जुन खालको क्षति त्यहाँ व्यहोर्यौ, यो पालि त्यस्तो खालको हुन्छ कि ? तर राम्रो के भएको छ भन्दा यही जल तथा मौसम विज्ञान विभागमा निजी क्षेत्रका र विद्युत प्राधिकरणका मान्छेलाई पनि सूचना प्रवाह गर्ने प्रणाली छ,’ उनले भने।

विपद प्राधिकरणसँग तीनै तहको सरकारको बलियो समन्वय हुनुपर्ने उनको भनाइ थियो।

‘विपद् प्राधिकरणले जिल्ला विपद् र स्थानीय तहसँग कोर्डिनेट गर्यो भने अझै राम्रो हुन्छ। कोर्डिनेसनहरु बेटर हुन्छ। प्रदेश सरकारसँग पनि गर्नुपर्छ,’ उनले भने, ‘सूचनाहरुलाई राम्रोसँग फ्लो गरिदिनुस्।’

मन्त्री श्रेष्ठले भोटेकोशी बाढीबाट पाठ सिकेर ९ देखि ११ सम्मको अवधिमा सुसूचित भइदिन र आफ्ना प्रियजनलाई सतर्क गरिदिन तथा विपद् प्राधिकरणबाट जारी हुने सर्कुलेसन पालना गर्न अपिलसमेत गरे।

प्रकाशित: ६ आश्विन २०८३ १८:५८ मंगलबार