सङ्घीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले छोरीको जन्मदिनको अवसरमा गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सम्झिएकी छन्।
भदौ २३ गते छोरीको जन्मदिन परेको उल्लेख गर्दै मन्त्री रावलले आफूले काख भरेको यही दिन गत वर्ष कैयौँ आमाको काख रित्तिएको स्मरण गरेकी हुन्। उनले त्यस घटनाका कारण अब छोरीको जन्मदिन पहिलेझैँ मनाउन नसक्ने समेत बताइन्।
'आज भाद्र २३ गते मेरी छोरीको जन्मदिन तर कस्तो विडम्बना, मेरो काख भरिएको यही दिन, गत वर्ष कैयौँ आमाको काख रित्तिएको थियो।त्यसैले अब मेरो प्राणभन्दा प्यारी छोरीको जन्मदिन पहिले जसरी कहिल्यै मनाउन सकुँला जस्तो लाग्दैन,' सामाजिक सञ्जालमार्फत उनले भनिन्।
गत वर्षको आन्दोलनमा राज्यको लापरबाहीका कारण आफ्ना छोरीजस्तै अबोध भाइबहिनीहरू गोली खान बाध्य भएको उनको भनाइ छ। आन्दोलनमा सन्तान गुमाएका आमाबुबाको पीडा र त्रासदीको घाउ अझै ताजा रहेको उनले उल्लेख गरिन्।
'मेरी छोरी, संसारका लागि फरक, तर मेरा लागि संसार नै हुन्। उनले मलाई प्रेम, जिम्मेवारी र आफ्नोभन्दा पर अरूका लागि बाँच्न सिकाइन् तर यही दिनसँग जोडिएको गत वर्षको पीडा कहिल्यै बिर्सन सक्दिनँ,' उनले भनिन्, 'मेरा छोरीजस्तै अबोध भाइबहिनीहरू राज्यको लापरबाहीका कारण गोली खान बाध्य भए। आफ्ना सन्तान गुमाएका आमाबुबाको पीडा र त्यो त्रासदीको घाउ अझै ताजा छ।'
रावलले अब यस्तो घटना दोहोरिन नहुने बताउँदै हरेक १५–२० वर्षमा आन्दोलन र बलिदान दोहोरिनुपर्ने नियति परिवर्तन हुनुपर्नेमा जोड दिएकी छन्। उनले देश र भविष्यका लागि जीवन अर्पण गर्ने सबै छोराछोरीप्रति भावपूर्ण श्रद्धासुमनसमेत व्यक्त गरेकी छन्।
'अब यस्तो कहिल्यै नहोस्। हरेक १५-२० वर्षमा आन्दोलन र बलिदान दोहोरिनुपर्ने हाम्रो नियति बदलियोस्। यही परिवर्तनको संकल्पसहित आज मेरी छोरीलाई जन्मदिनको अनन्त शुभकामना,' उनले लेखिन्, 'देश र भविष्यका लागि जीवन अर्पण गर्ने सबै छोराछोरीप्रति भावपूर्ण श्रद्धासुमन।'
प्रकाशित: २३ भाद्र २०८३ १३:३० मंगलबार