भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था र पुनर्स्थापनाका विषयमा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गरेकी छन्।
बिहीबार नुवाकोट पुगेकी मन्त्री रावलले विदुर र बेलकोटगढी नगरपालिकाका बाढी प्रभावितको अवस्थाबारे जानकारी लिँदै अस्थायी तथा स्थायी पुनर्स्थापनाका विषयमा स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसँग प्रत्यक्ष छलफल गरेकी हुन्।
छलफलमा विदुर नगरपालिकाका प्रमुख तथा उपप्रमुख, विभिन्न वडाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत सरोकारवालाको सहभागिता थियो। बैठकमा बाढीबाट प्रभावित नागरिकको अवस्था, होल्डिङ सेन्टरमा रहेका नागरिकको व्यवस्थापन, अस्थायी तथा स्थायी पुनर्स्थापना र भूमिहीन परिवारको दीर्घकालीन व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो।
मन्त्री रावलले बाढी प्रभावित परिवारको दीर्घकालीन व्यवस्थापन तथा पुनर्स्थापनाका लागि संघीय सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन्।
तत्कालीन राहत वितरणसँगै प्रभावित परिवारलाई सुरक्षित स्थानमा दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सरकारको प्राथमिकता रहने उनको भनाइ थियो।
त्यसैगरी, मन्त्री रावलले होल्डिङ सेन्टरमा रहेका नागरिकको यकिन विवरण यथाशीघ्र उपलब्ध गराउन सम्बन्धित स्थानीय तहलाई आग्रह गरिन्। प्रभावितको वास्तविक अवस्था र आवश्यकताका आधारमा पुनर्स्थापना तथा व्यवस्थापनको योजना अघि बढाउन विवरण आवश्यक रहेको उनले बताइन्।
प्रकाशित: १८ भाद्र २०८३ २०:२९ बिहीबार