विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले भोटेकोशी बाढीपछि संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई पठाएको राहत सामग्री ग्रहण गर्दै धन्यवाद दिएका हुन्।
उनले मंगलबार सामाजिक सञ्जालमार्फत युएईबाट करिब ६० टन उद्धार तथा राहत सामग्री नेपाल आइपुगेको बताएका हुन्। उनका अनुसार यो युएईले नेपाललाई गरेको दोस्रो सहयोग हो। युएई सरकारले नेपाललाई एक अर्ब रुपैयाँ नगदसमेत सहयोग गरेको उनले बताएका छन्।
पुनले लेखेका छन्, ‘हिजो राती संयुक्त अरब इमिरेट्स (युएई) बाट आएको करिब ६० टन उद्धार सामग्री नेपाल सरकारले बुझ्यो। यो सहयोग दोस्रो हो। यसका साथै युएई सरकारले नेपाललाई एक अर्ब रुपैयाँ नगद पनि सहयोग गरेको छ। युएई सरकारलाई धन्यवाद।’
युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानको निर्देशनमा उक्त सहायता पठाइएको हो। राहतमा खाद्यान्न, आवश्यक सामग्री, जेनेरेटरलगायत बाढी तथा पहिरो प्रभावितका लागि आवश्यक सामग्री छन्।
प्रकाशित: १६ भाद्र २०८३ ०८:३९ मंगलबार