राजनीति

राष्ट्रिय सभालाई दोष देखाएर मन्त्री गौतमले आफ्नो असक्षमता ढाकेको हो : सांसद कर्ण

फाइल तस्बिर

नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले राष्ट्रिय सभाले कुन–कुन कानुन निर्माणमा अवरोध गरेको हो भन्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई प्रश्न गरेकी छन्। 

बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै कर्णले राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएकै कारण कानुन निर्माण गर्न नसकिएको मन्त्री गौतमको भनाइप्रति आपत्ति जनाएकी हुन्। 

मन्त्री गौतमले आफ्नो असक्षमता ढाकछोप गर्न राष्ट्रिय सभामा रास्वपाको प्रतिनिधित्व नभएको विषयलाई कानुन निर्माणमा बाधकका रूपमा प्रस्तुत गरिरहेको कर्णको भनाइ छ। 

‘मन्त्रीज्यूले राष्ट्रिय सभामा हाम्रो प्रतिनिधित्व छैन । त्यसकारण हामीले कानुन बनाउन पाएनौँ भनेर मन्तव्य दिँदै हुनुहुन्छ । राष्ट्रिय सभाको कारण, अर्थात् प्रतिनिधिसभाको कारण, अर्थात् कुन निकायको कारण उहाँले कुन–कुन कानुन बनाउन पाउनुभएन ?’ कर्णले प्रश्न गरिन्। 

उनले फैसला कार्यान्वयनमा भइरहेको ढिलाइप्रति पनि सरकारको ध्यानाकर्षण गराइन्। कर्णले न्यायालय मुलुकको सबैभन्दा महत्वपूर्ण निकाय भएकाले नागरिकलाई समयमा न्याय दिन नसक्ने अवस्था गम्भीर विषय भएको बताइन्। 

‘हाम्रो देशको सबैभन्दा महत्वपूर्ण निकाय भनेको न्यायालय हो, सर्वोच्च अदालत हो। तर हामीले हाम्रो नागरिकलाई समयमा न्याय दिन सक्दैनौँ भने यो कस्तो शासन हो, कस्तो मुलुकमा बसिरहेका छौँ ?’ उनले प्रश्न गरिन्। 

प्रकाशित: २५ भाद्र २०८३ १२:३८ बिहीबार