कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि सामग्रीमा कालोबजारी, कृत्रिम अभाव वा मूल्यवृद्धिजस्ता गतिविधि देखिए तत्काल मन्त्रालयको हटलाइन नम्बरमा जानकारी गराउन किसान, उपभोक्ता र सर्वसाधारणसँग आग्रह गरेकी छन्।
चितवनका विभिन्न स्थानमा कृषि क्षेत्रको छड्के अनुगमन तथा किसानसँग प्रत्यक्ष संवाद गर्दै मन्त्री चौधरीले मल, बीउ, विषादीलगायत कृषि सामग्री लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने वा अनुचित रूपमा मूल्य बढाउने गतिविधि सह्य नहुने स्पष्ट पारिन्।
उनले यस्ता गतिविधिबारे मन्त्रालयमा उजुरी प्राप्त हुनासाथ सम्बन्धित निकाय परिचालन गरी तत्काल अनुगमन गरिने र दोषी व्यक्ति वा व्यवसायीलाई कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरिन्।
"किसानको हितविपरीत हुने कुनै पनि गतिविधिप्रति सरकार शून्य सहनशीलताको नीतिमा छ," मन्त्री चौधरीले भनिन्।
अनुगमनका क्रममा उनले रोपाइँको अवस्था, मल–बीउको उपलब्धता, विषादीको आपूर्ति, उत्पादन लागत, सिँचाइ सुविधा, बजार व्यवस्थापन तथा किसानले भोगिरहेका समस्याबारे स्थलगत जानकारी लिइन्।
चितवनका विभिन्न स्थानीय तह र खेतबारीमा पुगेर किसानसँग प्रत्यक्ष छलफल गरेकी मन्त्री चौधरीले गुनासा र सुझाव सुनेपछि सम्बन्धित सरकारी निकायका अधिकारीसँग टेलिफोनमार्फत समन्वय गर्दै देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिइन्।
उनले कृषि उत्पादन वृद्धि गर्न समयमै आवश्यक कृषि सामग्री उपलब्ध गराउने, कालोबजारी नियन्त्रण गर्ने तथा किसानका समस्या समाधान गर्न मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्याइन्।
प्रकाशित: २७ असार २०८३ १७:२६ शनिबार