राजनीति

अस्ट्रेलियाका जलवायुमन्त्रीसँग मन्त्री चौधरीको भेट, हिमालका मुद्दा बेवास्ता नगर्न आग्रह

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले अस्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जामन्त्री क्रिस बोवेनसँगको भेटमा हिमाली मुद्दालाई बेवास्ता नगर्न आग्रह गरेकी छन्।

टर्कीको अन्टाल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व १४ नोभेम्बरदेखि सम्हालेकी मन्त्री चौधरीले नेपालको जलवायु प्राथमिकताका विषयमा अस्ट्रेलियाका मन्त्रीसँग औपचारिक छलफल गरेकी हुन्।

भेटका क्रममा उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका चुनौतीलाई कोपको छलफल तथा निर्णय प्रक्रियामा उचित प्राथमिकता दिनुपर्ने बताएकी छन्। कोपमा विभिन्न जलवायु मुद्दामाथि छलफल भइरहँदा माउन्टेन एजेन्डा ओझेलमा पर्न नहुने उनको भनाइ थियो।

मन्त्री चौधरीले नेपाल, किर्गिस्तान र भुटानको सहकार्यमा हिमाली मुद्दालाई प्राथमिकता दिनुपर्ने धारणा राखेकी छन्। यस विषयलाई निष्कर्षमा पुर्‍याउन निरन्तर संवाद र सहकार्य गर्न पनि उनले आग्रह गरेकी छन्।

उनले हिमालसम्बन्धी विषयलाई कोप–३१ को अन्तिम दस्तावेज तथा मस्यौदामा समावेश गर्नुपर्नेमा जोड दिएकी छन्।

त्यस्तै, महासागरसम्बन्धी मुद्दालाई पनि कोपको छलफलमा थप महत्त्व दिनुपर्ने विषय उनले उठाएकी छन्।

मन्त्री चौधरीले उठाएका यी विषयमा कोप अध्यक्षले सकारात्मक प्रतिक्रिया दिँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: २९ कार्तिक २०८३ ०९:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App