कृषि, वन तथा पर्यावरण मन्त्री माननीय गीता चौधरीले बाढीका कारण पशुचौपायामा रोग फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै आवश्यक रोकथाम तथा नियन्त्रणका उपाय तत्काल अवलम्बन गर्न पशु सेवा विभागलाई निर्देशन दिएकी छिन्।
बाढीका कारण पशुचौपायाको आवतजावत तथा सम्पर्क बढ्न सक्ने र त्यसबाट संक्रामक रोग फैलिन सक्ने जोखिम रहेकाले पशु स्वास्थ्यमा विशेष निगरानी तथा सतर्कता अपनाउन उनले निर्देशन दिएकी हुन्।
विशेषगरी रसुवा, नुवाकोट तथा धादिङ जिल्लामा विशेष टोली परिचालन गरी पशु स्वास्थ्यसम्बन्धी निगरानी, रोग पहिचान, रोकथाम तथा नियन्त्रणका आवश्यक कार्य अघि बढाउन पशु सेवा विभागलाई निर्देशन दिइन्।
मन्त्री चौधरीले विपद्को समयमा मानव स्वास्थ्यसँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकतामा राख्नुपर्ने बताइन्।
सम्भावित पशुजन्य रोगको जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्दै तत्काल आवश्यक कदम चाल्नुपर्नेमा उनले जोड दिइन्।
प्रकाशित: १० भाद्र २०८३ १७:५३ बुधबार