महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी भोटेकोशी बाढीबाट प्रभावित समुदायको अवस्था बुझ्न आज रसुवाको आमाछोदिङमो गाउँपालिकामा आएकी छिन्।
गाउँपालिकामा आयोजित विशेष कार्यक्रममा सहभागी हुँदै मन्त्री बादीले बाढीबाट महिला, बालबालिका तथा लैंगिक एवं यौनिक अल्पसङ्ख्यक समुदायमा परेको प्रभावबारे जानकारी लिएकी उनको निजी सचिवालयले जनाएको छ।
अनुगमनका क्रममा उनले बाढीपछिको अवस्था, प्रभावित समुदायका तत्कालीन आवश्यकता र उनीहरूले भोग्नुपरेका समस्याबारे स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग छलफल गरेकी थिइन्।
मन्त्री बादीले बाढी प्रभावित महिला, बालबालिका तथा लैंगिक एवं यौनिक अल्पसङ्ख्यक समुदायको संरक्षण, पुनःस्थापना र सामाजिक सुरक्षा सुनिश्चित गर्न आफ्नो तर्फबाट सक्दो सहयोग र पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।
प्रभावित समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्नुका साथै दीर्घकालीन संरक्षण, पुनःस्थापना र सामाजिक सुरक्षाका लागि मन्त्रालयका विशेष कार्यक्रम तथा पहल आमाछोदिङमो गाउँपालिकाबाटै सुरु गरिने गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङले बताइन्।
प्रकाशित: १० मंसिर २०८३ १३:४१ बिहीबार