महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले विपद्को समयमा सरकारको प्रयास मात्र पर्याप्त नहुने भन्दै प्रभावित नागरिकको संरक्षणका लागि सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएकी छन्।
आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विपद्बाट प्रभावित बालबालिकाको संरक्षण प्रभावकारी बनाउन सरकार, स्थानीय तह, सम्बन्धित निकाय तथा साझेदार संस्थाबीच सहकार्य आवश्यक रहेको बताइन्। बालबालिकाको संरक्षण र शिक्षाका नाममा समेत अनधिकृत रूपमा ओसारपसार तथा स्थानान्तरण गर्न नपाइने व्यवस्था स्पष्ट रहेको उनले जानकारी दिइन्।
राष्ट्रिय बाल अधिकार परिषद्को सहमति र स्थानीय तहका बालकल्याण अधिकारीको सिफारिसबिना बालबालिकाको ओसारपसार तथा स्थानान्तरण गैरकानुनी हुने विषयमा सरकार स्पष्ट रहेको मन्त्री बादीले बताइन्।
ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको संरक्षणका लागि पनि सरकारले विभिन्न कार्यक्रम अघि बढाएको उनले जानकारी दिइन्। विपद्बाट प्रभावित ज्येष्ठ नागरिकको उद्धार, सुरक्षित आश्रय, स्वास्थ्य उपचार, सहायक सामग्री तथा पुनःस्थापनाका लागि सम्बन्धित आश्रम, स्थानीय तह र सेवा प्रदायक संस्थासँग समन्वय भइरहेको उनको भनाइ छ।
नुवाकोटको देवघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानबाट विस्थापित ज्येष्ठ नागरिकलाई सुरक्षित वैकल्पिक स्थानमा स्थानान्तरण गरी स्वास्थ्य परीक्षण, आवश्यक सामग्री तथा मनोसामाजिक परामर्श उपलब्ध गराइएको उनले बताइन्।
ज्येष्ठ नागरिकको दीर्घकालीन पुनःस्थापनाका लागि धादिङ, नुवाकोट र रसुवा जिल्लामा स्वास्थ्य उपचार सुविधासहितका ज्येष्ठ नागरिक हेरचाह केन्द्र निर्माण गर्ने योजना अघि बढाइएको मन्त्री बादीले जानकारी दिइन्।
त्यसैगरी राष्ट्रिय अपाङ्ग महासंघलगायत साझेदार संस्थासँगको सहकार्यमा विपद्बाट प्रभावित अपाङ्गता भएका व्यक्तिको पहिचान, आवश्यकता मूल्याङ्कन, उद्धार तथा सहायक सामग्री उपलब्ध गराउने काम भइरहेको उनले बताइन्। स्वास्थ्य तथा मनोसामाजिक सेवामा पहुँच सुनिश्चित गर्नसमेत काम भइरहेको उनको भनाइ छ।
प्राप्त विवरणअनुसार विपद्बाट १४४ जना अपाङ्गता भएका व्यक्ति प्रभावित भएका छन्। तीमध्ये सात जनाको मृत्यु भएको, ७६ जना विस्थापित र १६ जना बेपत्ता तथा सम्पर्कविहीन रहेको मन्त्री बादीले जानकारी दिइन्।
साथै सडक तथा यातायात सम्पर्क अवरुद्ध भएका क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारको व्यवस्था गरिएको मन्त्री बादीले बताइन्।
उनका अनुसार हालसम्म जटिल प्रसूति अवस्थामा रहेका ११ जना महिला तथा नवजात शिशुको हवाई उद्धार गरी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचारका लागि ल्याइएको छ।
उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका महिला तथा नवजात शिशुको सुरक्षित बसोबास र आवश्यक हेरचाहका लागि पनि सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्था मिलाइएको उनले जानकारी दिइन्।
महिला तथा किशोरीका लागि सुरक्षित स्थल :
बाढी प्रभावित महिला तथा किशोरीको संरक्षणका लागि नुवाकोट र धादिङमा १० वटा महिला तथा किशोरीमैत्री सुरक्षित स्थल स्थापना गरिएको मन्त्री बादीले बताइन्।
विपद्बाट प्रभावित तथा जोखिममा रहेका महिलाको संरक्षण, सुरक्षा र आवश्यकताअनुसार अस्थायी आश्रय उपलब्ध गराउने उद्देश्यले बूढानीलकण्ठमा अस्थायी संरक्षण आश्रय केन्द्र निर्माणको कामसमेत अघि बढाइएको उनले जानकारी दिइन्।
तत्कालीन आवश्यकतालाई सम्बोधन गर्न डिग्निटी किट, एडोलेसेन्ट किट तथा बेबी प्याक किट वितरण गरिएको छ। प्रभावित समुदाय तथा अस्थायी संरक्षण केन्द्रमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको पनि मन्त्री बादीले बताइन्।
उनले जीवनचक्रमा आधारित उमेरगत तथा अवस्थाअनुसार महिलामा देखिने फरक–फरक जोखिम र आवश्यकतालाई ध्यानमा राख्दै महिला विशेष कार्ययोजनाअन्तर्गत संरक्षण तथा सहायता कार्यक्रम अघि बढाइएको बताइन्।
प्रकाशित: ८ आश्विन २०८३ १२:३० बिहीबार