राजनीति

काठमाडौंलाई सडक आश्रित मानवमुक्त बनाउन महानगर सक्रिय

काठमाडौं महानगरपालिकाले महानगरलाई सडक आश्रित सहयोगापेक्षीमुक्त सहर बनाउने अभियानअन्तर्गत पशुपति क्षेत्रबाट उद्धार कार्य सुरु गरेको छ।

नेपाल प्रहरी, मानव सेवा आश्रम र स्थानीयको सहभागितामा सडकमा रहेका बिरामी, अशक्त तथा बेवारिसे व्यक्तिहरूको उद्धार थालिएको हो।

अभियानको पहिलो दिन पशुपति क्षेत्रबाट ६ जना, कालीमाटीबाट २ जना र टेकुबाट १ जना गरी कुल ९ जना सहयोगापेक्षीको उद्धार गरिएको छ।

उद्धार गरिएकाहरूमध्ये कोही शारीरिक रूपमा अशक्त, कोही क्षयरोगका बिरामी र कोही युरिन क्याथेटर लगाएको अवस्थामा फेला परेका छन्।

उद्धार कार्यको नेतृत्व गर्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सडकमा रहेका सबै व्यक्ति असहाय नभएको स्पष्ट पारिन्।

‘हामीले सबैलाई सडकबाट उठाएका होइनौं, वास्तविक बेसहारा र अशक्तको मात्र उद्धार गर्छौँ,’ उनले भनिन्, ‘शारीरिक अवस्था ठीक भएकाहरूलाई माग्ने कामलाई पेसा बनाउन निषेध गर्छौँ।’

उनले उद्धारपछि स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्शसहित मानवोचित व्यवस्थापन गरिने प्रतिबद्धतासमेत व्यक्त गरिन्।

पशुपति क्षेत्रको रात्रिकालीन सेवामा कार्यवाहक प्रमुख डङ्गोलसँगै गायिका आनी छोइङ डोल्मा र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसमेत सहभागी थिए।

उद्धार गरिएकाहरू नुवाकोट, रामेछाप, काभ्रे र धादिङ घर भएका व्यक्तिहरू हुन्।

अभियानलाई व्यवस्थित बनाउन महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा उच्च स्तरीय समन्वय समिति गठन गरिएको छ।

समितिमा जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान, पशुपति क्षेत्र विकास कोष र नेपाल प्रहरीका प्रतिनिधिहरू सदस्य रहेका छन्।

त्यस्तै, महानगर प्रहरी बलको संयोजकत्वमा अवस्था अध्ययन, उद्धार र पारिवारिक पुनर्मिलनका लागि विशेष कार्यदलसमेत गठन गरिएको छ।

कार्यदलले हरेक दिन बिहान ६ देखि ९ बजे, दिउँसो १ देखि ३ बजे र साँझ ८ देखि १० बजेसम्म गरी तीन चरणमा उद्धार सेवा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ।

महानगरपालिकाले काठमाडौंलाई सहयोगापेक्षी सडक मानवमुक्त बनाउन सामाजिक विकास विभाग र महानगर प्रहरीलाई वडा कार्यालय र स्थानीय समुदायसँग समन्वय गरेर अघि बढ्न निर्देशन दिएको छ।

प्रकाशित: ३ वैशाख २०८३ १९:०१ बिहीबार