राजनीति

प्रधानमन्त्रीलाई फिर्ता बोलाउन माग गर्दै २३ जेन-जी समूह शीतलनिवासमा

राष्ट्रपतिलाई बुझाए ज्ञापनपत्र

जेन-जी आन्दोलनको औचित्य र अपेक्षा पूरा गर्न नसकेको भन्दै विभिन्न २३ वटा जेन-जी समूहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाउन माग गरेका छन्।

बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्।

जेन-जी समूहहरूले पत्रमार्फत कार्की नेतृत्वको सरकारलाई तत्काल फिर्ता बोलाएर नयाँ सरकार गठनमा मध्यस्थताको भूमिका निर्वाह गरिदिन राष्ट्रपतिसमक्ष आग्रह गरेका छन्।

राष्ट्रपतिलाई बुझाइएको ज्ञापनपत्रमा जेन-जी विद्रोहको जगमा बनेको वर्तमान सरकारले विद्रोही पक्षका न्यूनतम अपेक्षा पूरा गर्न नसकेको आरोप लगाइएको छ।

सरकार मूल एजेन्डाबाट भट्किएर केवल निर्वाचन गराउने ध्याउन्नमा मात्र लागेको र दिशाहीन बनेको उनीहरूको ठहर छ।

ज्ञापनपत्रमा भनिएको छ, ‘यो विद्रोह र सहादत केवल अर्ली इलेक्सनका लागि भएको थिएन। तसर्थ, यो सरकारले तत्काल विद्रोही पक्षका माग सम्बोधन गर्नु पर्दछ।’

समूहले यदि वर्तमान सरकारले विद्रोही पक्षका माग पूरा गर्न नसक्ने हो भने सरकारलाई फिर्ता बोलाई आफ्नै (जेनजीको) नेतृत्वमा नयाँ सरकार गठनका लागि वातावरण बनाइदिन राष्ट्रपतिसँग आग्रह गरेको छ।

माग सम्बोधन नभए सरकारविरुद्ध फेरि अर्को शान्तिपूर्ण आन्दोलन र दबाबका कार्यक्रम सुरु गर्ने चेतावनी समेत उनीहरूले दिएका छन्।

ज्ञापनपत्रमा जेनजी नेसनल फ्रन्ट लाइनर, जेनजी स्पार्क, एन-टेक जेनजी, ऋणी एसोसिएसन नेपाल, जेनजी पार्लियामेन्ट, स्वतन्त्र जेनजी नेपाल लगायत २३ वटा विभिन्न समूह तथा एलाइन्सले हस्ताक्षर गरेका छन्।

प्रकाशित: ४ मंसिर २०८२ १५:३६ बिहीबार