राजनीति

जेलमा मासुभात खाएर बलात्कारी अर्ना भैँसी जस्ता भए: आशिका तामाङ

<br>

सांसद आशिका तामाङले बलात्कारका घटनामा संलग्न अपराधीलाई कडाभन्दा कडा सजाय हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्। 

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले बलात्कारका अपराधीलाई हालको कानुनी व्यवस्थाअनुसार जेल पठाउने मात्रै गर्दा त्यसले पीडितलाई न्यायको अनुभूति गराउन नसकेको टिप्पणी गरिन्। 

‘बलात्कारीलाई छुट्टै सजाय दिने कानुनमा के त्यस्तो व्यवस्था छ र ? उही जेलमा जाने, ग्वामग्वाम मासुभात खाएर लामखुट्टे जस्तो सुकेको ज्यान भएको बलात्कारी अर्ना भैँसी जस्तो भएर निस्किनु बाहेक अरू ठूलो उपलब्धि मैले केही देखेको छैन,’ उनले भनिन्।

समाजमा बलात्कारका घटना सार्वजनिक भएपछि सडकमा अपराधीलाई कडा सजाय दिनुपर्ने आवाज उठ्ने गरेको स्मरण गर्दै उनले ‘कडा सजाय’ भन्नाले के बुझ्ने भन्ने विषयमा स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताइन्।

तामाङले बलात्कारका अपराधीलाई कारबाहीका लागि सरकारसमक्ष तीन विकल्पसमेत प्रस्तुत गरिन्। पहिलो विकल्पका रूपमा उनले मृत्युदण्डको व्यवस्था गर्नुपर्ने बताइन्। मृत्युदण्डको व्यवस्था गर्न नसकिए अपराधीलाई जेल पठाए पनि कारागारभित्र खानपिनको सुविधा नदिने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।

त्यसैगरी, यी दुवै व्यवस्था लागू गर्न नसकिए बलात्कारमा प्रयोग गरिएको शरीरको अंग नै छेदन गर्ने कानुन बनाउनुपर्ने माग उनले राखिन्। तामाङले अपराधीले गरेको क्रूरताको प्रकृति हेरेर कानुनी व्यवस्थामा परिवर्तन गर्नुपर्नेमा जोड दिइन्।

कानुनमा आवश्यक सुधार नगरेसम्म बलात्कारपछि हत्या गरिएका बालिकाका परिवारले न्यायको अनुभूति गर्न नसक्ने उनको भनाइ थियो। 

‘अपराधीले गरेको क्रूरता हेरेर कानुनको व्यवस्थामा परिवर्तन नभएसम्म बाराकी तीन वर्षीया गरिमा चौधरी र कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तजस्ता नानीहरूको आत्माले न्याय र शान्ति पाउने छैन,’ उनले भनिन्।

प्रकाशित: ८ भाद्र २०८३ १५:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App