राजनीति

बागमती प्रदेशका मुख्यमन्त्री र ललितपुर महानगर प्रमुखबीच भेटवार्ता, के भयो कुराकानी ?

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनबीच भेटवार्ता भएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री थापा र नगर प्रमुख महर्जनबीच बुधबार महानगरपालिकामा भेटवार्ता भएको हो। मुख्यमन्त्रीलाई नगर प्रमुख महर्जन र नगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गरेका थिए। उक्त भेटघाटमा प्रशासन प्रमुख देवप्रसाद गुरागाईंलगायतको उपस्थिति थियो।

भेटवार्ताका क्रममा मुख्यमन्त्री थापाले महानगरले गरेको काम उत्कृष्ट रहेको प्रतिक्रिया दिए। उनले भने, ‘विपद् व्यवस्थापन, हरियाली संरक्षणमा महानगरले उत्कृष्ट काम गरेको छ। स्वास्थ्य क्षेत्रमा भएका काम पनि अनुकरणीय छन्।’

मुख्यमन्त्री थापाले महानगरसँग प्रदेश सरकारले सहकार्य गरेर अघि बढ्ने बताए।

नगर प्रमुख चिरीबाबु महर्जनले महानगरले सम्पदा संरक्षणसँगसँगै नागरिकको दैनिक जीवनसँग जोडिएका विषयलाई प्राथमिकता दिएर काम गरेको बताए। ललितपुर महानगरले गरेका काम अन्य पालिकाले समेत अनुकरण गरेको बताउँदै यस पालिकाभित्र भएका कामको अवलोकन र अध्ययनका लागि मोफसलका पालिकाहरू दिनहुँजसो आउने गरेको जानकारी नगर प्रमुखले गराए।

नागरिकको नजिकको सरकार स्थानीय तह भएको बताउँदै प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्न महानगर तयार रहेको महर्जनले बताए।

मुख्यमन्त्री थापाले हिमाली प्रकोपबाट प्रभावित रसुवाको भ्रमणका क्रममा देखेका विषयहरू पनि कुराकानीका क्रममा राखेका थिए।

मुख्यमन्त्री किरण थापा मगरले नगर प्रहरीले निर्वाह गरेको जिम्मेवारी उत्कृष्ट रहेको बताउँदै दमकलस्थित नगर प्रहरी बलको कार्यालयको समेत अवलोकन गरेका थिए।

प्रकाशित: ७ आश्विन २०८३ १८:२७ बुधबार