प्रधानमन्त्री सुशीला कार्कीले संघीय संसदका दुवै सदनका प्रमुख तथा पदाधिकारीहरूसँग भेटवार्ता गरेकी छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति र संसदको गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ।
भेटवार्तामा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर तथा राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरे सहभागी थिए।
त्यसैगरी, संघीय संसदका महासचिव पदमप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे पनि छलफलमा उपस्थित थिए।
भेटका क्रममा सरकार र संसदबीचको समन्वयलाई थप सुदृढ बनाउने र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा विचार-विमर्श भएको थियो।
सरकार र व्यवस्थापिकाबीच नियमित छलफल र सहकार्यलाई निरन्तरता दिने विषयमा पनि उनीहरूबीच कुराकानी भएको जनाइएको छ।
प्रकाशित: १७ कार्तिक २०८२ १९:२५ सोमबार