सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्र रूपान्तरण भइरहे पनि अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई सञ्चार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताएका छन्।
उनले कृत्रिम बौद्धिकता (एआई), डिजिटल प्लेटफर्म र नयाँ प्रविधिलाई आत्मसात् गर्दै विश्वसनीयता, तथ्यपरकता, सम्पादकीय जिम्मेवारी र लोकतान्त्रिक मूल्यलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। सार्वजनिक सेवा प्रसारण संस्था नेपाल र सामुदायिक रेडियो प्रसारक संघको आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको एसिया प्यासिफिक इन्सिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआईबीडी) को २४औँ सम्मेलनलाई सम्बोधन गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले सञ्चार प्रविधि परिवर्तन भए पनि नागरिकको सूचना पाउने अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत सिद्धान्त परिवर्तन हुन नहुने बताएका हुन्।
उनले स्वतन्त्रतासँगै सञ्चार क्षेत्रको जिम्मेवारी पनि जोडिएको उल्लेख गर्दै नागरिकलाई सही, निष्पक्ष, सन्तुलित र जवाफदेही सूचना उपलब्ध गराउनु सञ्चारमाध्यमको प्रमुख दायित्व भएको बताए। गलत सूचना र दुष्प्रचारको समाधान प्रतिबन्ध वा नियन्त्रणमा मात्र खोज्न नहुने भन्दै उनले बलियो पत्रकारिता, मिडिया साक्षरता, पारदर्शिता, प्रभावकारी व्यावसायिक मापदण्ड र नागरिकको विश्वास अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
संकट, प्राकृतिक विपद्, सार्वजनिक स्वास्थ्य समस्या जस्तो अवस्थामा सञ्चारमाध्यामको भूमिका अझ महत्वपूर्ण हुने सञ्चारमन्त्री डा तिमिल्सिनाको भनाइ थियो। त्यस्तो अवस्थामा नागरिकलाई सही सूचना उपलब्ध गराउनुका साथै समाजमा विश्वास र स्थिरता कायम गर्न जिम्मेवार सञ्चार माध्यामले योगदान पुर्याउने उनले बताए।
प्रकाशित: ९ भाद्र २०८३ १३:२९ मंगलबार