लिखत सम्बन्धी कसुर तथा किर्ते जालसाजी मुद्दामा पक्राउ पुर्जी जारी भएका वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेलाई प्रहरीले सोमबार पर्सा जिल्ला अदालत परिसरबाट पक्राउ गरेको छ।
सादा पोसाकमा खटिएको प्रहरी टोलीले घिमिरेलाई पर्सा जिल्ला अदालत परिसरबाटै नियन्त्रणमा लिएर पर्सा प्रहरी कार्यालय वीरगञ्जको जिम्मा लगाएको छ।
राजेशमान सिंह लुकेको स्थानबारे थाहा पाउनका लागि घिमिरेलाई नियन्त्रणमा लिएर बुझ्ने कार्य गरिएको पर्सा प्रहरीले जनाएको छ।
अदालतबाट पक्राउ पुर्जी जारी भएका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंहलाई पक्राउ गरी अदालतमा बुझाउन ढिलाइ गरेको भन्दै पर्सा प्रहरी प्रमुख सुदीपराज पाठकको कार्यप्रति प्रहरी प्रधान कार्यालयले असन्तुष्टि जनाएको बुझिएको छ।
पर्सा प्रहरीले जसरी पनि फरार रहेका राजेशमान सिंहलाई नियन्त्रणमा लिएर अदालतमा बुझाउने कार्यमा लागेको देखिन्छ।
फरार रहेका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंहलाई सोमबार अदालतमा हाजिर गराउनका लागि स्वकीय सचिव घिमिरे सोमबार बिहान १० बजेतिर पर्सा जिल्ला अदालतमा पुगेका बताइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमानका स्वकीय सचिव घिमिरेसँग केही कुरा बुझ्नका लागि प्रहरी कार्यालयमा ल्याइएको बताएका छन्।
जिल्ला प्रहरी कार्यालयमा ल्याइएका घिमिरेसँग सम्बन्धित विषयमा सोधपुछ भइरहेको बस्नेतले बताए।
पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका राजेशमान सिंहले प्रहरी प्रशासनलाई चुनौती दिँदै कानुनी राज्यको खिल्ली उडाउँदै हिँडेका छन्।
पक्राउ पुर्जी जारी भएका सिंह अदालतबाटै उम्किएपछि प्रहरीलाई चुनौती
सामान्यतया अदालतबाट पक्राउ पुर्जी जारी भएको व्यक्ति अदालतमा उपस्थित हुन जाँदा मुद्दाको पेशीबाट थुनछेक बहस नभएसम्म श्रेस्तेदारले त्यस व्यक्तिलाई निवेदन लिएर प्रहरीको जिम्मा लगाउनुपर्ने कानुनी व्यवस्था रहेको छ। तर पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएका वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहमाथि पर्सा जिल्ला अदालतमा त्यो नियम लागू नभएको घटना सार्वजनिक भएको थियो।
पर्सा जिल्ला अदालतका श्रेस्तेदारले लिखत सम्बन्धी कसुर तथा किर्ते जालसाजी मुद्दामा पक्राउ पुर्जी जारी भएका राजेशमान सिंहलाई अदालतबाटै छोडेको घटना सार्वजनिक भएपछि अदालतको कामकारबाही प्रक्रियामाथि नै प्रश्न उठेको छ।
पर्सा जिल्ला अदालतले जेठ ८ गते सिंहसहितलाई पक्राउ पुर्जी जारी गरेको थियो।
पक्राउ पुर्जी जारी भएपछि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह जेठ १३ मा पर्सा जिल्ला अदालतमा पुगेका थिए।
बुधबार बिहान मेयर सिंह आफ्ना कानुनी सल्लाहकार कमलमोहन पोखरेल, स्वकीय सचिव घिमिरेसहित समर्थकहरूको समूह लिएर पर्सा जिल्ला अदालत परिसर पुगेका थिए।
श्रेस्तेदारसँग भेटघाट गरेपछि सिंह अदालत परिसरभित्र हिँडडुल गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
पक्राउ पुर्जी जारी भएको व्यक्ति अदालतमा हाजिर हुन आएमा अदालतका श्रेस्तेदारले ती व्यक्तिलाई प्रहरीको जिम्मा लगाएर मुद्दालाई पेशी चढाउने प्रक्रिया अघि बढाउनुपर्ने कानुनी व्यवस्था रहेको छ।
प्रहरीको जिम्मा लगाइएको व्यक्तिको मुद्दा गोलाप्रथाबाट परेको इजलासका न्यायाधीशले थुनछेकको बहस गर्नुपर्ने कानुनी व्यवस्था रहेको अधिवक्ता परमहंस केशरीले दाबी गरेका छन्।
थुनछेक बहस भएपछि न्यायाधीशले प्रमाणका आधारमा त्यस व्यक्तिलाई थुनामा पठाउने वा तारिखमा राख्ने आदेश दिने व्यवस्था हुँदाहुँदै पनि वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंहलाई त्यो प्रक्रिया पूरा नगराई त्यसै अदालतबाट बाहिर जान दिएको आरोप श्रेस्तेदारमाथि लागेको छ।
श्रेस्तेदारसमक्ष उपस्थित भएर प्रमुख सिंहले निवेदन दिएपछि निवेदनलाई लिएर श्रेस्तेदार मलिकले पर्सा जिल्ला अदालतका न्यायाधीशहरूसँग पेशी तोकेर मुद्दाको प्रक्रिया अगाडि बढाउन आग्रह गरेको अदालत स्रोतले जनाएको छ।
छलफलमा न्यायाधीशहरूले राजेशमान सिंहको मुद्दाको पेशी आज हेर्न नसकिने जवाफ दिएपछि थुनामा बस्नुपर्ने डरले श्रेस्तेदारको सल्लाहमा उनी अदालतबाट उम्किन सफल भएका थिए।
पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मलिकले बुधबार वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसँग अदालतमा भेट भएको स्वीकारेका छन्।
भेट गर्न आएका राजेशमान सिंहविरुद्ध नै पक्राउ पुर्जी जारी भएको आफूलाई थाहा नभएको कारणले उनी अदालतबाट बाहिर जान सफल भएको श्रेस्तेदारले तर्क गरेका छन्।
अदालतबाट पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई नियन्त्रणमा लिने काम अदालतभन्दा पनि प्रहरीको भएकाले प्रहरीले किन राजेशमान सिंहलाई समातेर अदालतमा नबुझाएको भन्दै मलिकले प्रश्न गरेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक अदालतमा उपस्थित भएर निस्केदेखि नै प्रहरीले पक्राउ गर्नका लागि राजेशमान सिंहसहितलाई खोजी गरिरहेको बताएका छन्।
पक्राउ पुर्जी जारी गरिएका राजेशमान सिंह अदालतमा पुगेकै दिन कानुनी प्रक्रिया पूरा नगरी बाहिरिएको घटनाले कानुनी राज्यका लागि राम्रो नभएको पाठकले बताएका छन्।
अदालतबाट पक्राउ पुर्जी जारी भएका वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरी अदालतसमक्ष नबुझाइएको घटनामा पर्सा प्रहरी र प्रशासनको भूमिकासमेत शंकाको घेरामा परेको छ।
प्रकाशित: १८ जेष्ठ २०८३ १६:१५ सोमबार