राजनीति

नेपाली क्रिकेटले आगामी दिनमा अझ उचाइ हासिल गरोस् : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका अवसरमा नेपाली क्रिकेटको सफलताको कामना गर्दै खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेटप्रेमीलाई शुभकामना दिएका छन्।

सोमबारदेखि सुरु हुन लागेको एनपीएलका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै थापाले नेपाली क्रिकेटले आगामी दिनमा अझ उचाइ हासिल गरोस् भन्ने कामना गरेका हुन्।

उनले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण रहेको उल्लेख गरेका छन्। सीमित स्रोतसाधन र अनेक कठिनाइका बाबजुद नेपाली क्रिकेटलाई यहाँसम्म पुर्‍याउन खेलाडी, प्रशिक्षक तथा क्रिकेटप्रेमीले पुर्‍याएको योगदानको पनि उनले स्मरण गरेका छन्।

‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, क्यान र क्रिकेटप्रेमीहरूलाई हार्दिक शुभकामना,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्।

‘नेपाली क्रिकेट आज जुन स्थानमा आइपुगेको छ, त्यसका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको छ। सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच पनि नेपाली क्रिकेटलाई यहाँसम्म पुर्‍याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक र क्रिकेटप्रेमीहरूलाई यस अवसरमा सम्झँदै, नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ उनले लेखेका छन्।

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगिताले नेपाली क्रिकेटको विकास, खेलाडीको क्षमता अभिवृद्धि र घरेलु क्रिकेटप्रति आकर्षण बढाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित: ९ कार्तिक २०८३ १५:४७ सोमबार