‘भ्रष्ट नेता र भ्रष्टाचारविरुद्ध लड्नैपर्छ, अहिले नलडे कहिले लड्ने ?’ जेन-जी आन्दोलनमा होमिनुअघि ललितपुर महानगरपालिका–७ पाटन सुन्धारा–दुपातका ३४ वर्षीय विनोद महर्जनले साथीभाइसँग भनेका शब्द हुन् यी। ‘म मारिएछु भने पनि गणतन्त्रको दियो निभ्न नदिनु,’ भन्दै अघि बढेका विनोद भदौ २३ गते नयाँवानेश्वरस्थित संसद् भवन अगाडि कहिल्यै नउठ्ने गरी सधैँका लागि ढले। अधुरो सपना छोडेर उनी बिदा भए।
बाक्लो दाह्रीजुँगा पालेका, लामो कपाल भएका निडर स्वभावका विनोद सानैदेखि अन्याय सहन नसक्ने व्यक्तित्वका थिए। छलछाम गर्न नजान्ने, कसैको आलोचना गर्नुपरे लुकीछिपी होइन सिधै गर्ने उनको हक्की स्वभाव थियो।
स्वर्गीय पिता बाबुकाजी महर्जन र आमा लतमाया महर्जनका कान्छो सन्तान विनोदमा मुलुकको व्यवस्था परिवर्तनका लागि युवाहरूले सशक्त आन्दोलन गर्नैपर्छ भन्ने विचारधारा थियो। बाहिरी हुलियाले अनौठो ठान्नेहरू पनि उनको भनाइ र विचार सुनेपछि प्रभावित हुन्थे। यही स्वभावका कारण उनले समाजमा बेग्लै पहिचान बनाउँदै आएका थिए।
कान्छो छोरा विनोद महर्जनलाई सम्झँदै त्यस दिनको कुराकानीबारे आमा लतमाया महर्जन नेवारी भाषामै भन्छिन्, ‘जिं जा नयेत धया, वं धाल, ‘आः जिं नये मखु, पासाः वल, जि छुं ई पिहां वनाः लिहां वयेबलय् नये ।’ अर्थात् ‘मैले भात खाऊ भनेँ, उसले भन्यो– अहिले म खाँदिनँ, साथी आइसक्यो, एकछिन बाहिर गएर आएपछि खान्छु।’
खाना नखाई निस्किएका विनोद आन्दोलनमा गएर गोली लागेर ढले। आन्दोलनका क्रममा नयाँबानेश्वर चोकमा भएको घटनामा उनको मुख र टाउकोमा दुई गोली लागेको थियो। गोली लागेपछि साथीहरूले उनलाई नजिकैको एभरेष्ट अस्पताल लगेका थिए तर त्यहाँ पुर्याउनु अघि नै उनको निधन भइसकेको थियो। सानै उमेरमा बुबाको निधन भएपछि तीन दिदीबहिनी, एक दाजु र आमासँग बस्दै आएका विनोद परिवारका कान्छो सदस्य थिए।
लामो समय देवीदेवताको मूर्ति बनाउने काम गर्दै आएका विनोद कोरोनापछि पेसागत संकटमा परेपछि पछिल्लो समय ‘वाल पेन्टिङ’मा संलग्न थिए। उनकी दिदी विना महर्जन अवालका अनुसार एसएलसी परीक्षामा असफल भएपछि उनले दैनिक अभ्यास र स्वअध्ययनबाट मूर्ति बनाउने र पेन्टिङको काम सिकेका थिए। ‘देश र परिवारका लागि केही गरौँ अनि मात्र विवाह गरौँला’ भन्ने विनोदको सपना जेन-जी आन्दोलनका क्रममा बानेश्वरमै बिलायो,’ दिदी विना भन्छिन्।
एकान्त समयमा चित्र बनाउने अभ्यास गर्ने बानीका कारण भदौ २२ गते पनि विनोदले राति अबेरसम्म चित्र बनाएका थिए। राति अबेर भएकाले बिहान १० बजेसम्म पनि उनी ओछ्यानबाट उठेका थिएनन्। दिदी विनाका अनुसार अघिल्लो दिन साथीभाइबीच आन्दोलनमा सहभागी हुने कुराकानी भएअनुसार बिहान १० बजेतिर साथीहरू आएर उनलाई उठाएर लगे। आन्दोलनमा निस्कँदा आमाले खाना खान बोलाउँदा उनले साथी बोलाउन आएकाले एकछिन बाहिर गएर आएपछि खाने भन्दै मुख धोएर घरबाट निस्किए। त्यसपछि उनी सिधै साथीसँग बानेश्वर पुगे। उता आमा भने छोरो खाना खान आउला भनेर कुरिरहिन्।
सुरुमा विनोदले आन्दोलनकारीलाई पानी वितरण गरेर सहयोग गरिरहेको दृश्य परिवारका सदस्यले घरमै बसेर फेसबुक लाइभमार्फत देखिरहेका थिए। दिदी विनाका अनुसार, ‘अघिपछि जात्रापर्वमा पनि अरूलाई सहयोग गर्ने, खानेकुरा र पानी बाँड्ने उनको बानी थियो। त्यो दिन पनि भाइ पानी बाँडिरहेको हामीले फेसबुकबाट झल्याकझुलुक देखिरहेका थियौँ। त्यतिकैमा आन्दोलन चर्किएपछि आन्दोलनकारी र प्रहरीबीच भएको भिडन्तमा वानेश्वर चोक नजिक हानिएको गोली विनोदलाई लागेछ। त्यसपछि लाइभ पनि बन्द भयो। विनोदलाई गोली लागेको खबर उनीसँगै गएका साथीले घरमा दिएका थिए।’
दाजु काजीरत्न महर्जनका अनुसार त्यो दिन टोलका केही साथी विनोदभन्दा पहिले नै वानेश्वर पुगेका थिए। ‘किन जानुपर्ने आन्दोलन र जुलुसमा, हामीलाई के नै हुन्छ र !’ भन्दै अघिपछि साथीभाइलाई सम्झाउने विनोदलाई त्यो दिन भने जेन-जी पुस्ताले उठाएको सुशासनविरोधी महारोगका रूपमा रहेको भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विषयले निकै प्रभावित बनाएको थियो। काजीरत्न भन्छन्, ‘त्यो दिन समाज परिवर्तनका लागि भएको आन्दोलनमा जानुपर्छ, हामी नगए को जान्छ भनेर साथीभाइसँग कुरा राखेर गएका रहेछन्।’
दाजुका अनुसार ‘जेन-जी आन्दोलन भ्रष्टाचारविरुद्ध पनि हो’ भन्ने थाहा पाएपछि विनोद स्वतःस्फूर्त रूपमा साथीहरूसँग आन्दोलनमा सहभागी भएका थिए। कुनै पनि राजनीतिक दलमा आबद्ध नभएका उनी दलगत जुलुस र प्रदर्शनमा नजाने, साथीभाइलाई पनि त्यस्ता आन्दोलनमा नलाग्न आग्रह गर्ने गर्थे। तर भ्रष्टाचारविरुद्धको आवाजमा भने उनी मौन बस्न सकेनन्।
विनोद बहुप्रतिभाशाली थिए। मूर्तिकला उनको पहिचान थियो। सुन लेपन गर्ने र मुहारमा चित्रकला भर्ने काममा उनी निपुण थिए। महादेवका भक्त विनोद बाँसुरी र धिमेबाजामा पनि दक्ष थिए। पाहुना सत्कार उनको अर्को गुण थियो। घरका भित्ताभरि विभिन्न मूर्ति र पेन्टिङले सजिएको उनको संसार आज शून्य बनेको छ।
विनोद ढलेसँगै उनका ७५ वर्षीय आमाको सहारा पनि ढलेको छ। आमाको स्याहारसुसार उनी स्वयं गर्थे। सवारी चालक बुबा २०६७ सालमै बितिसकेपछि दाजुसँग मिलेर घर सम्हाल्दै आएका विनोदको पुख्र्यौली पेसा खेतीकिसानी थियो।
गोली लागेर एभरेष्ट अस्पताल पुर्याइएपछि रातभर त्यहाँ राखी भोलिपल्ट महाराजगन्जस्थित शिक्षण अस्पतालको शवगृहमा सारियो। केही दिनपछि पशुपति आर्यघाटमा योद्धाहरूको सामूहिक अन्त्येष्टि गरियो। राज्यबाट शहीद घोषणा भएपछि विनोदका परिवारलाई १५ लाख रुपैयाँ उपलब्ध गराइएको छ। ललितपुर महानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको छ।
दिदी विना भन्छिन्, ‘जेन-जी आन्दोलनका शहीद परिवारलाई विभिन्न सहयोग उपलब्ध गराउने भनियो, हामीले माग पनि पेस गरेका छौँ तर त्यो आजसम्म आश्वासनमै सीमित छ।’ परिवारले जेन-जी शहीदको सालिक निर्माण, परिवारलाई रोजगारी र आमाबुबालाई भत्ताको माग गर्दै आएको छ। विना भन्छिन्, ‘विनोदजस्तै भ्रष्टाचार अन्त्य र सुशासनका लागि फेरि पनि देशका युवाले ज्यान गुमाउन नपरोस्।’
जेन-जी आन्दोलनमा ज्यान गुमाएकामध्ये ४५ जनालाई सरकारले जेन-जी सुशासन योद्धा घोषणा गरेको छ। सरकारले जेन-जी शहीद परिवारलाई आर्थिक सहयोगसहित रोजगारी र जीविकोपार्जनका लागि मासिक भत्ता दिने योजना अघि बढाएको छ।
शहीद विनोद महर्जनको बलिदान भ्रष्टाचारविरुद्ध उठेको निडर चेतनाको प्रतीक हो। दलगत राजनीतिभन्दा माथि उठेर सत्य र न्यायको पक्षमा उभिएका विनोदले युवाको विवेक र साहस बन्धक बनाउनु हुँदैन भन्ने सन्देश दिएर गएका छन्। उनका बलिदानले गणतन्त्रको दियो निभ्न नदिन समाज, राज्य र नागरिक सबै जिम्मेवार हुनुपर्छ भन्ने सन्देश दिएको छ। शोकमा डुबेको परिवारको पीडामा मल्हम लगाउन राज्य संवेदनशील भई सुशासन कायम गर्दै नागरिकमैत्री सेवा प्रवाहमा जिम्मेवार र जवाफदेही बन्नुपर्छ। विनोदजस्ता शहीदका सपना अधुरा नहोस् भन्ने सबैको चाहना छ।
प्रकाशित: ५ माघ २०८२ १६:३० सोमबार