नेकपा एमालेका नेता महेश बस्नेतले जेन-जी आन्दोलनका क्रममा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कसैको घर नजलेको टिप्पणी गर्दै घर जलाउने र हिंसा भड्काउने कार्यमा को संलग्न छ भन्ने कुरा यसैबाट प्रस्ट हुने बताएका छन्।
बुधबार धनगढीमा संचारकर्मीसँग कुरानकानी गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। ‘माओवादीको घर जलेन, रास्वपाको कसैको घर जलेन। यसबाट तपाईं आफैं बुझ्नुस् कि घर जलाउने कुरामा कसको हात छ।’ उनले भने।
पुष्पकमल दाहालले एकीकरण र समाजवादी मोर्चाका नाममा ‘वृद्धाश्रम’ खोलेको उनको आरोप थियो। उनले नेताहरूको उमेर गन्ती गर्दै मोर्चालाई वृद्धाश्रम र फोहोर बोक्ने ट्याक्टरको संज्ञा दिए।
‘७७ वर्षका झलनाथ खनाल, ७५ वर्षका माधव नेपाल र ७२ वर्षका प्रचण्ड जम्मा भएर उहाँले वृद्धाश्रम बनाउनुभएको छ,’ बस्नेतले व्यंग्य गर्दै भने, ‘यसलाई क्रान्तिको रेल भनिएको छ, तर यो क्रान्तिको रेल होइन, बालेनले बन्चरेडाँडामा फोहोर बोकेर लाने ट्याक्टर हो। कम्युनिस्ट आन्दोलनको फोहोर जम्मा गरेको ट्याक्टर बोकेर प्रचण्डले एमालेलाई आरोप लगाउनु बेकार छ।’
‘छानबिन आयोग मान्दैनौं, सिंहदरबार घेर्छौं’
जेन-जी आन्दोलनबार सरकारले बनाएको गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगलाई एमालेले अस्वीकार गर्ने बस्नेतले स्पष्ट पारे। उनले उक्त आयोग न्यायिक नभई एमाले नेताहरू प्रति पूर्वाग्रह राख्ने व्यक्तिको नेतृत्वमा बनेको जिकिर गरे।
‘त्यो आयोगले बोलाएको कुनै पनि बयान दिन हाम्रा पार्टीका नेताहरू जानुहुन्न,’ सरकारलाई चेतावनी दिँदै बस्नेतले भने, ‘यदि जबरजस्ती गरियो भने नेताभन्दा अगाडि लाखौं कार्यकर्ता सिंहदरबार पुग्नेछन्।’
उनले वर्तमान सरकारका कारण मुलुकमा शान्ति सुरक्षा खलबलिएको, हत्याहिंसा बढेको र जनतामा नैराश्यता छाएको आरोप समेत लगाए।
प्रकाशित: १० मंसिर २०८२ १५:३२ बुधबार