प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकारको एक वर्ष बिना उपलब्धि सकिएको समीक्षा सुनाएको छ। आइतबार (आज) बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै माओवादी उपमहासचिव एवम् सांसद शक्ति बस्नेतले सरकारको समीक्षा सुनाएका हुन्।
‘निकै ठूलो हुङ्कारसहित गठन भएको सरकारले एक वर्ष पूरा गरेको छ। यसबीचमा संविधान संशोधनको कुरा त हुनै छाड्यो। सरकारको आर्थिक विकासको मोडलको बारेमा त संसद् उदाङ्गो भइसकेको पनि छ। अनियमितताको ढाकछोप गर्नु सरकारको नियति र नियमित काम जस्तै देखिन्छ। जनसरकारका विषयप्रति सरकार बेखबर हुँदै गइरहेको छ,’ बस्नेतले भने।
उनले सरकार उल्टो राज्यका सबै अङ्ग, निकायहरूलाई आफ्नो प्रभावमा पारेर आफ्नो स्वेच्छाचारी कदमहरूलाई ढाकछोप गर्ने, पुष्टि गर्ने कसरत गरिरहेको बताए। ‘भारी मनसुनको पूर्वानुमान भइरहेको अवस्थामा यूएनडीपी र इसिमोडले नेपालका २१ वटा हिमतालहरू र सीमा क्षेत्रको समेत गरी ४६ वटा हिमतालहरू विष्फोटनका जोखिममा रहेको रिपोर्टहरू सार्वजिन गरिरहेको सन्दर्भमा सरकार यसप्रति बेखबर नै देखियो। पूर्वतयारीको कुनै पनि काम गरिरहेको देखिँदैन,’ उनले भनेका छन्।
प्रकाशित: २९ असार २०८२ १५:०७ आइतबार