राजनीति

फुट्यो माओवादी केन्द्र, जनार्दन पक्ष अलग

नेकपा (माओवादी केन्द्र) औपचारिक रूपमा विभाजित भएको छ।

पार्टीका नेता जनार्दन शर्मा नेतृत्वको समूहले संयोजक पुष्पकमल दाहाल लगायतको मूल नेतृत्वले राजनीतिक हाराकिरी गरेको र क्रान्तिकारी आन्दोलनलाई धोका दिएको आरोप लगाउँदै पार्टीबाट अलग भएको घोषणा गरेको हो।

मंगलबार ‘प्रगतिशील अभियान, नेपाल’ नामक अभियान घोषणा गर्दै शर्मा पक्षले विद्रोह घोषणा गरेको हो।

शर्मा पक्षले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी एकता प्रकियालाई क्रान्तिकारी आन्दोलनप्रतिको विश्वासघात भनेको छ।

‘हाम्रा कमरेडहरू भने हाक्काहाक्की ज्यूँदै राजनीतिक हाराकिरीका सिकार बनिरहेका छन्,’ शर्मा पक्षले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विद्यमान दलाल पुँजीवादको वर्चस्व भएको संसदीय प्रणालीमा भासिँदै जानु क्रान्तिकारी आन्दोलनप्रति विश्वासघात हुन जान्थ्यो।’

यो पनि पढ्नुहोस्

पार्टी एकताप्रति असन्तुष्टि जनाउँदै जनार्दनले घोषणा गरे ‘प्रगतिशील अभियान’

शर्मा पक्षले पार्टीभित्र व्यक्तिवाद, नीतिहीनता र गुटबन्दी चरम उत्कर्षमा पुगेको र वैचारिक संघर्षलाई हास्यास्पद प्रहसनमा सीमित गरिएको आरोप लगाएको छ।

‘प्रतिवादी र न्यायाधीश एउटै व्यक्ति रहने यो वैचारिक संघर्षमा सामेल भएर गलत विचारलाई सही विचारद्वारा प्रतिस्थापन गर्न खोज्नु केवल मूर्खता हो,’ विज्ञप्तिमा उल्लेख छ।

विगतमा पार्टीबाट बाहिरिएर पुनः फर्किएका नेताहरूको व्यवहारले मूल नेतृत्वको अहंकार बढाएको र पार्टीलाई श्रमजीवी जनताबाट टाढा लगेको उनीहरूको निष्कर्ष छ।

पार्टी र जनताबीचको खाडल फराकिलो बन्दै गएको र त्यसले सामाजिक विस्फोटको रूप लिएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १८ कार्तिक २०८२ १५:४१ मंगलबार