राजनीति

राजनीतिक परिवर्तन धेरै भयो, अब आर्थिक क्रान्ति आवश्यक: कुलमान

ऊर्जामन्त्री कुलमान घिसिङले नेपालमा राजनीतिक परिवर्तनहरू धेरै पटक भए पनि आर्थिक समृद्धि हासिल हुन नसकेको भन्दै अबको बाटो आर्थिक क्रान्तिको हुनुपर्ने बताएका छन्।

बुधबार राजधानीमा आयोजित ‘उज्यालो नेपाल पार्टी’ को औपचारिक घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री घिसिङले यस्तो बताएका हुन्।

उनले विगतमा आफू नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा सुरु गरिएको ‘उज्यालो नेपाल अभियान’ नै आज पार्टीको रूपमा रूपान्तरण भएकोमा खुसी व्यक्त गरे।

मन्त्री घिसिङले यो पार्टीका संस्थापकहरूसँग आफ्नो २० वर्ष पुरानो सम्बन्ध रहेको स्मरण गरे। सम्बोधनका क्रममा घिसिङले नेपालको राजनीतिक अस्थिरताप्रति चिन्ता व्यक्त गरे।

विगत ७५ वर्षमा १५० भन्दा बढी सरकार बनेको तर जनताको जीवनस्तरमा तात्विक फरक नआएको उनको भनाइ थियो।

‘नेपालमा हरेक १० वर्षमा राजनीतिक परिवर्तन र आन्दोलनहरू (२००७, २०१७, २०३६, २०४६, २०६३) भए। राजनीतिक परिवर्तन गर्न सजिलो देखियो, तर आर्थिक क्रान्ति र व्यवस्थापन गर्न सबैभन्दा गाह्रो भयो,’ उनले भने, ‘अबको चुनौती भनेको राजनीतिक व्यवस्था परिवर्तन गर्ने होइन, जनताको अवस्था परिवर्तन गर्ने आर्थिक क्रान्ति हो।’

प्रकाशित: १७ मंसिर २०८२ १६:१७ बुधबार