राजनीति

विदेश भ्रमणका थुप्रै निम्तो आएका छन्, तर हामीलाई ‘इन्ट्रेस्ट’ छैन: प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई विदेश भ्रमणका थुप्रै निम्ता आए पनि अहिले त्यसमा कुनै रुचि नभएको बताएकी छन्।

नागरिक न्युजको विशेष संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै प्रधानमन्त्री कार्कीले सरकारको ध्यान आगामी निर्वाचन सम्पन्न गराउनमा केन्द्रित रहेकाले विदेश भ्रमण प्राथमिकतामा नपरेको स्पष्ट पारिन्।

‘विदेश भ्रमणको निम्तो थुप्रो आएको छ। संयुक्त राष्ट्रसंघ, कतार लगायत ठाउँबाट निम्ता आएको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘तर हामीले इन्ट्रेस्ट नै राखेका छैनौँ। हामी किन इन्ट्रेस्ट राखौँ ? हामीसँग जम्मा ६ महिना समय छ, त्यसमा पनि चाडबाड कटाउँदा ६ महिना पनि छैन।’

उनले सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु रहेको र मुलुकभित्रै गर्नुपर्ने कामको चाङ रहेकाले विदेश घुमेर समय खेर फाल्ने पक्षमा आफू नरहेको जिकिर गरिन्।

‘हाम्रो ध्यान भनेको चुनाव हो। यहाँको यत्रो काम छ, अधुरा कामहरू छन्। मेलम्चीको काम अधुरो छ, बन्चरेडाँडाको समस्या उस्तै छ। ती काम पूरा गरौँ कि विदेश घुमेर आउँ ?’ प्रधानमन्त्रीले प्रश्न गरिन्।

प्रधानमन्त्री कार्कीले अघिल्लो सरकारले छाडेका अधुरा कामहरू सम्पन्न गर्नमै आफूहरू व्यस्त रहेको बताउँदै भनिन्, ‘विदेशको कल्पना त मैले सपनामा पनि देखेको छैन। म चाहन्नँ पनि। मलाई यति डर छ कि कमसेकम काठमाडौंबाट बाहिर पनि जान नपर्ने अवस्था होस्। तर निर्वाचनको वातावरण बनाउन देशका विभिन्न ठाउँमा भने पुग्नुपर्ने बाध्यता छ।’

उनले थोरै समयमा धेरै जिम्मेवारी पूरा गर्नुपर्ने भएकाले मन्त्रीहरूलाई पनि काममा केन्द्रित हुन निर्देशन दिएको र अनावश्यक विदेश भ्रमणमा रोक लगाएको संकेत गरिन्।

‘यहाँ कामले फुर्सद छैन, कहाँ विदेश जाने ?’ प्रधानमन्त्रीको भनाइ थियो।

हेर्नुहोस् पूरा अन्तर्वार्ता :

 

 

प्रकाशित: ३ मंसिर २०८२ २२:२१ बुधबार