राजनीति

ओलीलाई पदबाट राजीनामा दिएर नेतृत्व हस्तान्तरण गर्न मानन्धरको माग

'सरकारको नेतृत्वमा असफल भएकैले हेलिकप्टर चढेर पद छोड्नुपर्ने स्थिति आयो'

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य डाक्टर सुरेन्द्र मानन्धरले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिएर नेतृत्व हस्तान्तरण गर्न माग गरेका छन्।

सरकारको नेतृत्वमा असफल भएकैले हेलिकप्टर चढेर पद छोड्नुपर्ने स्थिति आएको भन्दै मानन्धरले देश, आन्दोलन र पार्टीलाई थप क्षति हुनबाट जोगाउन अध्यक्षबाट राजीनामा दिएर नेतृत्व हस्तान्तरण गर्न ध्यानाकर्षण गरेका छन्।  

उनले संसद पुनर्स्थापनाको आन्दोलनले मुलुकमा द्वन्द्व चर्किनसक्ने खतरा औंल्याउँदै सजगतापूर्वक चुनावी तयारीमा लाग्नुपर्नेमा जोड दिएका छन्। बैठकमा उनले अलग्गै ८ बुँदे लिखित सुझाव प्रस्तुत गरेका थिए।  

यस्ता छन्, मानन्धरका सुझाव  

० देशमा केही पनि भएको छैन भन्ने चिन्तन ठीक छैन।  

०  दुई तिहाई नजिकको सरकार चलाईरहेको प्रधानमन्त्रीले देशमा के भई रहेको छ भन्ने कुनै जानकारी र अनुमान समेत गर्न नसक्नु र शासन व्यवस्था तहसनहसको यो भयानक अबस्था आउनुमा मुलतः प्रधानमंत्रीकै असक्षमता र असफलता हो। अरुलाई दोष दिएर उम्कन खोज्न कदापी मिल्दैन।

० इतिहासको खास समयमा संख्याको खास महत्व र भूमिका हुँदैन कमरेड।

० भाद्र २२ गतेसम्म संसदमा दुई दलको झन्डै २÷३ को सरकार थियो तै पनि हेलिकप्टर चढ्नुपर्ने परिस्थिति आयो। अब केन्द्रीय कमिटीमा संख्याको कुरा गर्दैछौं अनि भोलि अन्तको कुरा गरौंला। मूल कुरा त जनतासंग एकाकार हुने राजनीतिसंग पार्टीलाई जोड्न सक्नु पर्छ। यो कुरामा अध्यक्ष कमरेड आजसम्म सफल नदेखिनु भएकोले देश, आन्दोलन र पार्टीलाई थप क्षति हुनबाट रोक्न आफ्ना सहयोध्द्दा कमरेडहरूलाई विश्वास गरी अध्यक्ष पदबाट राजिनामा दिएर वहाँहरूलाई नेतृत्व हस्तान्तरण गरी पार्टीमा सामुहिक नेतृत्व कायम गर्न ऐतिहासिक आवश्यकता भईसकेको छ। यसमा ढिला नगरौं।

० देश भाद्र २२ अघिको अवस्थामा छैन  परिवर्तित परिस्थितिमा पार्टी कसरी अगाडी बढाउने भन्ने नीति तथा कार्यक्रम तय गर्नुपर्दछ। त्यसैले तोकिएको मितिमा चुनाव गर भनी चुनावी तयारीलाई उच्च प्राथमिकता दिँदै संसद पुनस्र्थापनाको विषयमा पनि सजकता अपनाएर अघि बढ्नु पर्दछ तर पार्टी नै संसद पुनस्र्थापनाको माग लिएर अदालत जान हुँदैन। संसद पुनस्र्थापनाको आन्दोलन लिएर जनतामा जान सक्ने कुनै अवस्था छैन। यसले उल्टो देशमा द्वन्दको सम्भावना बढाउने खतरा छ।

० चुनाबको तयारीमा मतदाता नामावली संकलन, निर्वाचन आयोगमा दल दर्ता लगायत सबै काममा सक्रिय सहभागी हुन पार्टीले आम जनता, अन्य दल र पार्टी कार्यकर्तालाई आव्हान गर्नु पर्दछ।

० नयाँ, विश्वासिलो तथा भरपर्दो व्यवहार प्रदर्शन गरी कम्युनिष्ट पार्टीहरूबीच सहकार्य र सुमधुर संबन्ध कायम गर्ने र आगामी निर्वाचन भै हालेमा बृहद वाम लोकतान्त्रिक गठबन्धन गर्ने तयारीकासाथ पार्टीलाई अघि बढाउनु पर्छ।

प्रकाशित: ३० आश्विन २०८२ १८:३९ बिहीबार