गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) नेतृ तथा अभिनेत्री नीशा अधिकारीले बलात्कारजस्ता जघन्य अपराध बढ्नुमा मुख्य समस्या पुरुष र केटाहरूको सोच रहेको बताएकी छन्।
सामाजिक सञ्जालमा भिडियो जारी गर्दै बलात्कारका घटना र पुरुषको मानसिकतालाई लिएर उनले यस्तो टिप्पणी गरेकी हुन्। अधिकारीले भनिन्, ‘हाम्रो पुलिस रिपोर्टको तथ्यांकले के देखाउँछ भने केटाहरू बलात्कारी हुन्, पुरुषहरू बलात्कारी हुन्। केटाहरूलाई र पुरुषहरूलाई विशेष शिक्षाको आवश्यकता छ, कडा कानुन र नियमको आवश्यकता छ। समस्या त्यहाँ छ। समस्या भिक्टिम्स अथवा सर्भाइभर्सहरूमा छैन र उहाँहरूको परिवारजनमा छैन। समस्या केटाहरूको मानसिकतामा छ, पुरुषहरूको मानसिकतामा छ।’
उनले सबै पुरुष वा केटाहरू नभए पनि जति पनि यस्ता अपराधमा संलग्न छन्, ती शतप्रतिशत पुरुष र केटाहरू नै रहेको तथ्यांकले देखाउने प्रस्ट पारिन्। घुमाउरो कुरा नगरी प्रत्यक्ष रूपमा समस्या कहाँ छ त्यहीँ नै समाधान खोज्नुपर्ने उनको भनाइ छ।
कानुनी प्रक्रियाको अनुभव सुनाउँदै उनले भनिन्, ‘एउटा अबुजको भिक्टिम अथवा सर्भाइभरले जाँदा त्यो प्रक्रिया हेर्नु त, घरिघरि त्यही कुरा रिपिट गरेर त्यो ट्रमा हेर्नु, त्यहाँ न काउन्सेलिङ हुन्छ, न वुमन प्रहरीहरूको उपस्थिति हुन्छ। मैले भनिरा छु, मैले भोग्या छु नि त। मैले भोगेर भन्या हो यो कुरा चाहिँ।’
समाजमा महिला र बालबालिका सुरक्षित नभएको उल्लेख गर्दै उनले बालबालिकालाई जोगाउने खालको समाज निर्माण गर्न सबैको दायित्व हुने बताइन्। सोसल मिडियामा देखिने छाडापन र यौनजन्य कुण्ठाप्रति पनि उनले रोष प्रकट गरिन्। साथै, पढेलेखेका व्यक्तिहरूबाट नै यस्ता घिनलाग्दा अपराध हुने गरेको भन्दै उनले आक्रोश पोखेकी छिन्। अधिकारीले आफूमाथि सामाजिक सञ्जालमा कुण्ठाले भरिएका कमेन्ट आउने गरेको भन्दै धेरैलाई ब्लक गरेको उल्लेख गरेकी छन्।
बाराको सिमरास्थित जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको घटनाप्रति देशभर गम्भीर आक्रोश र विरोध प्रदर्शनहरू भइरहेका छन्। यसबिच अधिकारीले यस्तो बताएकी हुन्।
प्रकाशित: ६ भाद्र २०८३ १६:५१ शनिबार



