नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रहरी अनुसन्धानका क्रममा खिचिएका संवेदनशील दृश्य तथा अभियुक्तको बयान सार्वजनिक हुनु गम्भीर र गैरजिम्मेवार कार्य भएको बताएका छन्।
बलात्कारपछि हत्या गरिएकी बालिका गरिमा चौधरीको घटनामा संलग्न भनिएका व्यक्तिको प्रहरीले लिएको भनिएको बयानको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयमा प्रतिक्रिया दिँदै श्रेष्ठले यस्तो कार्य तत्काल रोक्न प्रहरी नेतृत्वसँग आग्रह गरेका हुन्।
सामाजिक सञ्जालमार्फत श्रेष्ठले प्रहरीबाट खानतलासी गरिएको दृश्यसहित संवेदनशील विषयमा बयान लिइरहेको प्रत्यक्ष विवरण सार्वजनिक हुनु नितान्त गलत भएको बताएका छन्। यस्तो सामग्री प्रहरीको योजना, अनुमति वा सहमतिबिना सार्वजनिक भएको विषय सहजै विश्वास गर्न नसकिने उनको भनाइ छ।
उनले प्रहरी महानिरीक्षक र प्रहरी प्रधान कार्यालयलाई तत्काल यस प्रकारका गतिविधि रोक्न, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन तथा संवेदनशील भिडियो कसरी सार्वजनिक भयो भन्ने विषयमा अनुसन्धान गरी दोषीमाथि उपयुक्त कारबाही गर्न आग्रह गरेका छन्।
श्रेष्ठले सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोले अनुसन्धानको गोपनीयता, पीडितको संवेदनशीलता र कानुनी प्रक्रियामाथि नै प्रश्न उठाउने बताए।
उनले गरिमा चौधरीको बलात्कार र हत्यामा संलग्नलाई कानुनबमोजिम हदैसम्मको कारबाही हुनुपर्ने आम नेपाली जनताको माग रहेको उल्लेख गर्दै तस्करी वा अन्य कुनै अपराधमा संलग्न जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्नेमा आफूहरूको कुनै विमति नरहेको उनले स्पष्ट पारे।
तर, अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्ने नाममा प्रहरी अनुसन्धानका क्रममा खिचिएका खानतलासी तथा बयानका संवेदनशील दृश्यहरू सार्वजनिक गर्नु उचित नहुने श्रेष्ठको भनाइ छ।
प्रकाशित: ८ भाद्र २०८३ १४:५८ सोमबार



