नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार अराजक शैलीमा अगाडी बढिरहेको आरोप लगाएका छन्।
शुक्रबार पार्टी निकट आदिवासी जनजाति महासंघको कार्यक्रममा बोल्दै सभापति थापाले सरकारको कार्यशैली र मन्त्रीहरुको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए।
कानुनभन्दा माथि कोही पनि हुन नसक्ने बताउँदै उनले मन्त्री र सांसदहरूको उत्तेजक तथा धम्कीपूर्ण अभिव्यक्ति विधिको शासनमाथि चुनौती भएको बताए।
‘वर्तमान सरकारमा प्रचण्ड बहुमतको अहंकार देखिएको छ। जसका कारण शासकीय अराजकता निम्तिएको छ’ उनले भने,‘ मुख्य व्यक्तिको कार्यशैली नै अराजक भएपछि त्यसको प्रभाव तल्लो तहसम्म पुगेको छ। अहिले नागरिकहरूमा ठूलो आक्रोश छ।’
यस्तै, उनले विभिन्न माग राखेर आन्दोलनरत पक्षसँग सरकारले गरेका सम्झौता कार्यान्वयन नभएको भन्दै आपत्ती जनाए। उनले जनताका समस्या समाधानमा सरकार गम्भीर नदेखिएको आरोप लगाए।
प्रकाशित: २२ श्रावण २०८३ १४:२७ शुक्रबार