राजनीति

पहिचानको महत्व बुझाउन परम्परागत भेषभूषामा सांसद्

आमाले सिलाइदिएको लहङ्गा र चोलियासहित पुर्खौली थारु वेषभूषामा सजिएकी सांसद गीता चौधरीले संसद्मा आफ्नै थारु मातृभाषामा सपथ लिइन । उनले सपथ लिन आउँदा सानी छोरीलाई परम्परागत वेषभूषामा सजाएर ल्याइन ।  

“मेरो समुदायका लागि आज गौरवको दिन हो”, सांसद चौधरीले प्रतिनिधिसभामा सपथ लिएपछि प्रतिक्रिया दिँदै भनिन्, “सङ्घीयताको मर्मअनुसार मौलिक पहिचान लिएर थारु वेषभूषामा आएकी हुँ, आमा र देश मेरा लागि उस्ता उस्तै हो ।” उनले आफूले लगाएको पहिरन आमाले सिलाइ दिएको बताइन।  

संसद् देशका जनताको प्रतिविम्ब झल्किने साझा फूलबारी जस्तै भएकाले पहिचान खुलाएर आउनु सान्दर्भिक लागेको सांसद चौधरीले बताइन । उनले भनिन, “मैले छोरीलाई परम्परागत लुगा लगाएर ल्याएकी छु । जुन आउने पुस्तालाई संस्कृति हस्तान्तरण गराउनु जरुरी छ ।”  

शिरमा लगाएको पुर्खौली गहना ‘मङ्गौरी’, घाटीमा लगाउनेमाला ‘टौक’लगायत चाँदीले बनेका गहना देखाउँदै सांसद चौधरीले यी सबै गरगहना पुस्तौनी रहेको बताइन । सङ्घीयताको मर्म र भावना अनुरुप प्रतिनिधिसभामा समावेशिताको अर्थ बुझाउन सांसद चौधरीले जस्तै परम्परागत वेषभूषामा उपस्थिति भएका थिए ।

परम्परागत पहिरनमा सबैको ध्यान तानेका सांसदमध्ये सांसद सुधन गुरुङ । गोर्खाका गुरुङले टोपीको शिरमा खुकुरीको आकृति झल्काउँदै गुरुङ समुदायको पोसाकमा संसद्मा पुगे । सधैँ जस्तै, कोटपाइन्टमा देखिने गुरुङ परम्परागत भेषमा सपथ खाए । पहिरनसँगै मुहारमा उत्साह र जोश झल्किएको थियो । आमसञ्चारलाई प्रतिक्रिया दिने क्रममा उनले भने, “जनताको भावना मर्न दिने छैनौँ ।”  

नेपाली कम्युनिष्ट पार्टीबाट सांसद भएकी दाङका सांसद भीमकुमारी बुढामगरले समावेशीको सन्देश दिन पुर्खौली वेषभूषामा सपथ ग्रहण गर्न आएको बताइन । मगर समुदाय सांस्कृतिक हिसाबले अत्यन्त समृद्ध समुदाय रहेको सुनाउँदै समाजमा समुदायको पहिचान स्थापित गर्न पहिरनले महत्वपूर्ण सन्देश झल्किने बताइन ।

“सांस्कृतिक महत्व कहिल्यै भुल्नुहुँदैन”, सांसद बुढामगरले भनिन, “यही लगाएर हुर्किए यही लगाएर संसद्मा आएँ ।”

रास्वपाका सांसद महोत्तरीका प्रमोदकुमार महतोले श्रीराम लेखिएको गम्झा, शिरमा रातो रुमाल र कुर्था सुरुवाल लगाएका थिए । उनका अनुसार तराई क्षेत्रको आभाव गराउने आधार पहिरन भएको बताउँदै उनले संसद्मा तराईको अस्थित्व महसुस गराउन लगाएको बताए । “पहिरनले अपनत्व महसुस गराउछ भने राष्ट्रिय भाव बलियो बनाउछ”, सांसद महतोले भने, “म सांसद नहुँदा मौलिक पहिरन नै लगाउछु । आज संसद्मा उपस्थिति हुँदा नलगाउने कुरै भएन ।”  

संसद्मा उपस्थिति अरु सांसदहरुले समुदायको भाव झल्किने पहिरनमा उत्साहका साथ देखा परेका थिए ।  

ट्रान्सजेण्डरको प्रतिनिधित्व गर्दै रास्वपाबाट सांसद बनेकी भूमिका श्रेष्ठ  आफ्नो नेवार समुदायको संस्कृति झल्किने हाकुपटासी सारीमा देखिइन । उनले त्यसै अनुसारको नेवार गरगहना लगाएकी थिइन । संसद्मा एउटा सांसदले समुदायदेखि राष्ट्रको अस्थित्व सम्बोधन गर्नुपर्ने हुँदा परम्परागत पहिरनमा सजिएको बताइन । उनले भनिन, “समुदायको सम्मानसँगै, जनताको सेवा गर्नुपर्छ ।”

 

प्रकाशित: १२ चैत्र २०८२ २०:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App