नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको नयाँ पुस्ताको मनोविज्ञान बुझेर नीति तथा कार्यक्रम परिमार्जन नगरे पुराना राजनीतिक दलहरूको पुनर्जागरण कठिन हुने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै महासचिव पोखरेलले विगतका लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान गरेका दलहरूलाई समयको मागअनुसार रूपान्तरण हुन सुझाव दिएका हुन्।
उनले प्रविधिमैत्री युवापुस्ताको सोच र चाहनालाई सम्बोधन गर्न नसके ऐतिहासिक दलहरूको भविष्य सङ्कटमा पर्न सक्ने चेतावनी दिएका छन्।
समयको मागअनुसार राजनीतिक दलहरू युवामैत्री बन्नुपर्नेमा जोड दिँदै उनले लेखेका छन्, ‘समयको माग यही हो, युवामैत्री बनौं, युवाका भावनालाई आत्मसात् गरौं र उनीहरूलाई योजनाबद्ध रूपमा पार्टी तथा आन्दोलनमा जोडौं।’
महासचिव पोखरेलले नयाँ पुस्तालाई केवल प्रयोग गर्नेभन्दा पनि उनीहरूको भावनालाई आत्मसात् गर्दै योजनाबद्ध रूपमा पार्टी संगठन र आन्दोलनमा जोड्नुपर्ने खाँचो औंल्याएका छन्।
प्रकाशित: ८ भाद्र २०८३ १९:४४ सोमबार