राजनीति

महेश भन्छन्: हुटिट्याउँ भ्रममा प्रचण्ड

 नेकपा एमालेका नेता महेश बस्नेतले  माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहालले हुटिट्याउँको जस्तै भ्रम पालेको बताएका छन्। आफू नभए सवै कुरा गर्ल्यामगुर्लुम ढल्छ कि जस्तो लाग्ने  प्रचण्डले बताएसँगै  बस्नेतले सामाजिक सञ्जाल मार्फत यस्तो व्यङ्ग हानेका हुन्। दाहालका पछिल्ला अभिव्यक्ति हाँसो उठ्दो श्रेणीमा पर्ने बताउँदै उनले  तिनलाई  ‘नेसनल जोक’को संज्ञापनि दिए । 

‘हुटिट्याउँ खुट्टा माथि फर्काएर सुत्छ र ठान्छ, ‘मैले आकाश थामेको छु, नत्र खसेर थिचेर मर्छु,’ महेशले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यस्तै किसिमको भ्रम अझै प्रचण्डमा देखिन्छ। उनको पछिल्लो अभिव्यक्ति पनि त्यहीँ हाँसो उठ्दो श्रेणीमा पर्छ। जसलाई नेसनल जोक भन्न सकिन्छ।’

पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय रहँदै आएका  बस्नेतले यस अघि पनि पटक पटक प्रचण्डमाथि प्रहार गर्दे आएका छन्। सहकारी ठगीको आरोपमा नख्खु जेलमा रहेका रास्वपा सभापति  रवि लामिछानेसँगको प्रचण्डको भेटलाई लिएर पनि उनले व्यङ्ग हानेका थिए। ‘स्मार्ट ठगले नानीको बालाई नख्खुमै बोलाएछन्,’ भन्दै उनले लामिछाने र दाहाललाई एकै पटक  व्यङ्ग गरेका थिए ।

प्रकाशित: ८ भाद्र २०८२ ०६:४८ आइतबार