राजनीति

महेश भन्छन्- कांग्रेस फुट्दा एमालेलाई चुनाव जित्न सजिलो भयो, तर हामी खुसी छैनौं

नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसको विभाजनले एमालेलाई आगामी चुनावमा प्राविधिक रूपमा फाइदा पुग्ने भए पनि आफूहरू यसबाट खुसी नभएको बताएका छन्।

बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सचिव बस्नेतले प्रमुख प्रतिस्पर्धी दल विभाजित हुँदा एमालेलाई चुनावी मैदानमा सहजता मिले पनि राष्ट्रिय राजनीति र लोकतन्त्रका लागि यो सुखद पक्ष नभएको टिप्पणी गरे।

उनले भने, ‘गगनजीले संवादका रूपमा आफूलाई नेताभन्दा पनि अभिनेताका रूपमा प्रस्तुत गरिरहनुभएको छ। यो नेपालको राजनीतिको रोग हो।’

उनले एमालेले कांग्रेस विभाजन गर्न चाह्यो भन्ने आरोपको खण्डन गर्दै कांग्रेसभित्रै विभाजनको चाहना रहेको र अहिले त्यो पूरा भएको बताए। ‘कांग्रेस फुट्दा पनि एमालेले नै गाली खानुपरेको छ,’ बस्नेतले भने।

बस्नेतले कांग्रेसको विभाजनलाई ग्रान्ड डिजाइनको संज्ञा दिए। उनले भने, ‘प्रमुख प्रतिस्पर्धी दल फुट्दा हामीलाई धेरै सजिलो भएको छ, तर हामी खुसी छैनौं। किनकि यो राष्ट्रियता, लोकतन्त्र र विधिको शासन समाप्त पार्ने र अन्तर्राष्ट्रिय चलखेललाई खुला रूपमा नेपाल भित्र्याउने खेल हो।’

सचिव बस्नेतले मुलुकको राजनीति एमाले अध्यक्ष केपी शर्मा ओलीको वरिपरि घुमिरहेको दाबी समेत गरे। विगतमा गिरिजाप्रसाद कोइराला र प्रचण्डको वरिपरि राजनीति घुमेको स्मरण गर्दै उनले भने, ‘प्रचण्डले आफ्नो छवि थाम्न सक्नुभएन। अहिले केपी ओली जत्तिको राजनेता कोही छैन। उहाँले अघि सारेका एजेन्डा र उहाँकै वरिपरि अहिलेको राजनीति घुमिरहेको छ।’

प्रकाशित: १ माघ २०८२ १६:१७ बिहीबार