नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री सुशिला कार्की र सरकारको कार्यशैलीप्रति व्यंग्य गरेका छन्।
सोमबार सिंहदरबारमा निर्वाचन आयोग, राजनीतिक दल, जेन–जी प्रतिनिधि तथा सरोकारवालाहरूबीच भएको सर्वपक्षीय बैठकमा बोल्दै बस्नेतले आफूमाथि भएको आक्रमण र सरकारको भूमिकालाई जोडेर कटाक्ष गरेका हुन्।
बैठकमा प्रधानमन्त्री कार्कीकै सामुन्ने बस्नेतले भने, ‘दलका नेताहरूमाथि अहिले पनि स्थान हद लगाइएकै छ। ५–७ वटा जिल्ला जाँदा ढुङ्गा खाएर आएको मान्छे मै हुँ क्यारे ! हामीले ढुङ्गा खाए बापत खुसीयाली मनाइकै छ।’
विगतमा विभिन्न जिल्लाका कार्यक्रममा जाँदा आफूमाथि भएको आक्रमण र अवरोधको घटना स्मरण गर्दै उनले सरकार र सत्तारुढ दलहरूप्रति असन्तुष्टि पोखे।
बस्नेतले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन हुनेमा आफूहरू विश्वस्त नरहेको बताए। ‘चुनाव २१ गते हुन्छ भन्ने कुरामा हामी चाहिँ विश्वस्त छैनौँ,’ उनले भने।
यदि तोकिएको समयमा चुनाव नभए र सर्यो भने संसद् पुनःस्थापना आफैँ हुन्छ कि के हुन्छ भन्ने प्रश्न समेत उनले उठाए। ‘६ महिनाभन्दा बढी त ग्याप हामीले देखेका छैनौँ। अहिले तपाईंले लोकतान्त्रिक पद्धति मिचेर फटाफट अध्यादेश ल्याइरहनुभएको छ,’ बस्नेतले भने ।
सरकारले ल्याएको अध्यादेशप्रति एमालेको आपत्ति रहेको बस्नेतले बताए। उनले दलहरूको चुनाव चिन्हको मर्यादाक्रम तोक्ने विषयमा गोला प्रथा लागू गर्न खोजिएको भन्दै विरोध जनाए।
‘हिजो ल्याउनुभएको अध्यादेशमाथि हाम्रो गम्भीर आपत्ति छ। दलहरूको चुनाव चिन्हको सन्दर्भमा पनि गोला प्रथाद्वारा मर्यादाक्रम तोक्ने कुरा छ रे ! नत्र विगतमा दलले प्राप्त गरेको मतको आधारमा तोक्ने कुरा थियो,’ उनले भने, ‘त्यो हो भने अर्को एउटा गम्भीर असन्तुष्टि हामीमाथि तपाईंले रोपिइसक्नु भयो।’
बस्नेतले ‘नो भोट’ को प्रावधान राख्ने विषय पनि आएको सन्दर्भ उल्लेख गर्दै निर्वाचन प्रणाली र सरकारको तयारीप्रति शंका व्यक्त गरे।
प्रकाशित: ७ पुस २०८२ १९:३७ सोमबार