राजनीति

महेशको आरोप: प्रधानमन्त्री बन्ने मोहमा रविले १४ हजार कैदी भगाए

नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि कैदी भगाएको आरोप लगाएका छन्।

बुधबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले लामिछानेले प्रधानमन्त्री बन्ने चाहना पूरा गर्न १४ हजार कैदीबन्दीलाई जेलबाट भगाएको आरोप लगाएका हुन्।

बस्नेतले भने, ‘रवि लामिछानेले आफू प्रधानमन्त्री बन्ने मोहमा १४ हजार कैदीलाई बाहिर निकालेर देशमा छरपस्ट छोड्नुभएको छ। यसले समाजमा आतंक सिर्जना गरेको छ।’

आन्दोलन र अराजकताको फाइदा उठाउँदै जेलबाट निस्किएका कैदीहरूमध्ये अझै १२ देखि १५ सय जना नफर्किएको जिकिर गर्दै उनले देशको शान्ति सुरक्षाको अवस्था भयावह बनेको बताए।

‘५ सयभन्दा बढी प्रहरी चौकी जलेका छन्, १२ सयभन्दा बढी हतियार लुटिएका छन्,’ बस्नेतले भने, ‘ती हतियार अझै राज्यको नियन्त्रणमा आएका छैनन्। लुटिएका हतियार र फरार कैदीहरूले जुनसुकै बेला दुर्घटना निम्त्याउन सक्छन्।’

नेता बस्नेतले मुलुकमा अमनचयन हराएको र लुटपाटको वातावरण बनेको भन्दै यसका पछाडि गम्भीर षड्यन्त्र रहेको सुनाए। ‘एकातिर राजा ल्याउने र संकटकाल लगाउने षड्यन्त्र भइरहेको थियो भने अर्कोतिर रविजीहरूले आफ्नो राजनीतिक स्वार्थका लागि अपराधीहरूलाई उन्मुक्ति दिने काम गर्नुभयो,’ उनले भने।

प्रकाशित: १० मंसिर २०८२ १५:४४ बुधबार