राजनीति

महेशको दाबी: एमालेको मंसिर ५ र ६ गतेको प्रदर्शनले सरकार ढाल्न सक्छ

नेकपा एमालेका नेता महेश बस्नेतले एमालेको आगामी सडक प्रदर्शनले वर्तमान सरकार ढाल्न सक्ने चेतावनी दिएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत नेता बस्नेतले एमाले र यसका भ्रातृ सङ्गठनहरूले काठमाडौंमा आयोजना गर्न लागेको शक्ति प्रदर्शनले सरकार ढाल्न सक्ने बताएका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मंसिर ५ गते नेसनल भोलिन्टियर फोर्सले माइतीघरमा गर्ने प्रदर्शन र ६ गते नेकपा एमाले भृकुटीमण्डपमा आयोजना गर्ने उपत्यका स्तरको ठुलो सभाले सरकार ढाल्न सक्छ।’

एमालेको जनसंगठन संयोजक संयन्त्रले मंसिर ५ गते शुक्रबार नेसनल भोलिन्टियर फोर्स को ब्यानरमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ।

उक्त कार्यक्रममा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

प्रदर्शनका लागि कार्यकर्ता तथा स्वयंसेवकहरूलाई बिहान ११ बजे बबरमहल बस स्टप नजिकै भेला हुन निर्देशन दिइएको छ।

त्यहाँबाट सुरु हुने मार्च पास माइतीघर मण्डला हुँदै नयाँ बानेश्वरसम्म पुग्ने र कार्की ब्याङ्क्वेटमा पुगेर सभामा परिणत हुने जनाइएको छ।

प्रकाशित: ३ मंसिर २०८२ १८:४६ बुधबार