राजनीति

बालेनलाई महेशको चेतावनी- ओलीमाथि आक्रमण गर्ने योजना बनाए ‘अचार’ बनाइदिन्छाैं’

नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई ‘अचार बनाइदिने’ भन्दै चेतावनी दिएका छन्।

आइतबार आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सिध्याउन शाहले योजना बनाए, त्यसको प्रतिकार गर्ने अभिव्यक्ति दिएका हुन्।

बस्नेतले केही समूहले सामाजिक सञ्जाल डिस्कोर्डमा एमाले अध्यक्ष ओलीमाथि आक्रमण गर्ने योजना बनाएको सूचना आफूले पाएको दाबी गरे।

उनले भने, ‘ड्रोन हमला गर्ने, हामीलाई मार्न आउँछु भनेर योजना बनाउने लुसिफरहरू गलत उद्देश्यले गुण्डु आयो भने किमा बनाउँछु, अचार बनाउँछु।’ उनले यस्तो भन्नु आफ्नो नैसर्गिक अधिकार भएको तर्कसमेत गरे।

आफ्नो सम्बोधनका क्रममा बस्नेतले गृहमन्त्रीलाई समेत चुनौती दिए। उनले गृहमन्त्रीलाई लक्षित गर्दै भने, ‘ताकत भए केपी ओलीलाई समातेर देखाउँ।’

बस्नेतले आफूहरू राजनीतिक संगठन भएको र देशको समृद्धि र विकासका लागि योगदान दिन चाहेको तर आफ्नो संगठन र नेताविरुद्ध कसैले आक्रमण गर्न खोजे त्यसको कडा प्रतिकार गर्ने बताए।

‘हामी आतंकवादी समूह होइनौँ, हामी राजनीतिक संगठन हौँ,’ उनले भने, ‘तर हाम्रो विरुद्ध अट्याक गर्न आउँछ भने त्यसको प्रत्याक्रमण गर्नु हाम्रो नैसर्गिक अधिकार हो।’

प्रकाशित: २३ कार्तिक २०८२ १६:१६ आइतबार