राजनीति

महेश बस्नेतको प्रश्न : फरक विचार राख्नेहरूलाई दिनदिनै प*क्राउ र कारबाही किन?

नेकपा एमालेका सचिव महेश बस्नेतले दुर्गा प्रसाईंको पुनः गिरफ्तारीलाई लिएर सरकारमाथि प्रश्न उठाएका छन्।

प्रसाईंको गिरफ्तारीपछि सचिव बस्नेतले फरक विचार राख्ने व्यक्तिहरूमाथि निरन्तर पक्राउ र कारबाही किन भइरहेको भन्दै प्रश्न गरेका हुन्।

उनले भनेका छन्, 'सरकारले दुर्गा प्रसाईलाई फेरि गिरफ्तार गरेछ। फरक विचार राख्नेहरूलाई दिनदिनै पक्राउ र कारबाही किन?'

उनले सरकार आलोचनासँग डराएको हो वा असहमत आवाज दबाउन खोजेको हो भन्ने प्रश्नसमेत गरे। 'लोकतन्त्रमा आलोचनाको जवाफ गिरफ्तारीले होइन, तथ्य र कामले दिनुपर्छ,' उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

प्रसाईंलाई सोमबार भक्तपुरस्थित निवासबाट साइबर ब्युरोले पक्राउ गरेको हो। रास्वपा सांसद रचना खतिवडाविरुद्ध दिएको अभिव्यक्तिको विषयलाई लिएर प्रसाईंलाई विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ आश्विन २०८३ १४:४८ सोमबार