नेकपा एमालेका नेता महेश बस्नेतले बाराको सिमरामामा उत्पन्न परिस्थितिलाई लिएर सरकारले कर्फ्यू लगाएको निर्णयलाई नैतिकरूपमा गलत कदम भएको टिप्पणी गरेका छन्।
उनले राष्ट्रिय युवा संघ नेपालको मधेश जागरण कार्यक्रममा सहभागी हुन सिमरा जाँदा ‘जेन-जी’ नाममा विभिन्न दल–आवद्ध समूहलाई उक्साएर सरकारले अराजक भिड उतारेको आरोप लगाए।
बस्नेतका अनुसार करिब ५०–६० जना संलग्न सामान्य अवस्थालाई नियंत्रित गर्न नसकेर कर्फ्यू लाग्नु सरकारको असक्षमता र अधिनायकवादी सोचको प्रतिबिम्ब हो। उनले भने, ‘सभा–सम्मेलन गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने मौलिक अधिकार हनन गरेर दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भन्नु हास्यास्पद छ।’
सरकारलाई ‘कठपुतली’ भन्दै बस्नेतले लोकतन्त्र, विधिको शासन र सुशासनको सरकारद्वारा खिल्ली उडाइएको आरोप लगाए। ‘नियत स्पष्ट भइसकेको छ, जनता सबै बुझिसकेका छन्,’ उनले बताएका छन्।
आफूहरूको अभियान रोक्न सकिने नसक्ने स्पष्ट पार्दै बस्नेतले भने, ‘हामी यस प्रकारका अवरोधले विचलित हुँदैनौँ। लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा हाम्रो संघर्ष निरन्तर जारी रहनेछ।’
प्रकाशित: ३ मंसिर २०८२ १४:४२ बुधबार