राजनीति

कर्मचारीलाई शिक्षामन्त्रीले सोधे: समिति मात्रै बनाएर हुँदैन, पैसा खोइ ?

राष्ट्रिय आविष्कार केन्द्रबाट सिंहदरबारको यात्रा तय गरेका नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार ग्रहण गरेकै दिन कर्मचारीतन्त्रको परम्परागत कार्यशैलीलाई चुनौती दिएका छन्।

मन्त्री भएपछि पहिलो निर्णयमा हस्ताक्षर गर्ने प्रचलनअनुसार कर्मचारीले ‘वैज्ञानिकहरूको समिति गठन गर्ने’ प्रस्ताव अघि सार्दा, उनले हस्ताक्षर गर्न आनाकानी गर्दै आर्थिक स्रोतको सुनिश्चितता खोजे।

सोमबार केशरमहलस्थित मन्त्रालयमा पदभार ग्रहण गरेपछि कर्मचारीहरूले उनलाई ‘थिंक ट्यांक’ को नयाँ समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गर्न आग्रह गरेका थिए। तर, मन्त्री पुनले यस्ता समितिहरू विगतमा पनि धेरै बनेको तर ठोस काम हुन नसकेको भन्दै आपत्ति जनाए।

‘समिति त बन्छ, बनाउँला। समिति मात्रै बनाएर भएन। पहिलो कुरा आर्थिक स्रोत खोज्नुपर्‍यो,’ मन्त्री पुनले कर्मचारीहरूलाई प्रतिप्रश्न गरे, ‘सधैं पैसा नै छैन भनेर अड्किएको हो। पैसा कहाँबाट ल्याउने भनेर आर्थिक स्रोत त खोज्नुपर्‍यो नि।’

उनले समितिहरू केवल भिजिटिङ कार्डमा लेख्ने र दुई-चार पटक मिटिङ बस्ने काममा मात्र सीमित हुन नहुनेमा जोड दिए। ‘बरु सानै होस्, ठोस काम होस्। पहिला एउटाबाट सुरु गरौं, अनि त्यो काम ठोस होस् भन्ने म चाहन्छु,’ पुनले भने।

कर्मचारीहरूले निकै बेर सम्झाएपछि मात्र उनी हस्ताक्षर गर्न तयार भए, तर एउटा सर्तसहित। ‘अहिले हस्ताक्षर चैँ गर्छु, तर, यो निर्णयलाई पछि मेरो टिमले हेर्नुपर्छ,’ उनले भने।

प्रकाशित: ६ आश्विन २०८२ १६:३७ सोमबार