शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले अमेरिकाबाट फर्केको ३२ वर्षसम्म दाताकै भरमा आविष्कारका काम गर्नेदेखि परिवार पालेको प्रतिक्रिया दिएका छन्। छोरीलाई बाङ्लादेश चिकित्सा पढाउन करोडौँ रकम कहाँबाट आयो? भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेका बेला मन्त्री पुनले बिहीबार फेसबुकमा एक स्टाटस राख्दै यस्तो प्रतिक्रिया दिएका हुन्।
‘३२ वर्ष अगाडि अमेरिकाबाट फर्केर आएको र कमाई केही पनि नभएको व्यक्तिले करिब २०० भन्दा बढी गाउँमा इन्टरनेट पुर्याउन, सात वर्षदेखि आविष्कार केन्द्र सञ्चालन गरेर प्रतिभाहरूलाई निःशुल्क हुर्काउन, कोरोना महामारीमा स्वास्थ्य सामग्रीहरू निःशुल्क वितरण गर्न र ३० वर्षदेखि बन्द भएको वीरगन्ज कृषि औजार कारखाना पुनः सञ्चालन गर्न करोडौँ रुपैयाँ आम जनताले किन दान गरे भनेर बुझम त ?,’ मन्त्री पुनले लेखेका छन्।
यस्तै उनले अगाडि लेखेका छन्,‘अहिलेसम्म मलाई र श्रीमतीलाई पाल्ने, छोरीहरूलाई पाल्ने र पढाइ दिने काम आवश्यक पर्नासाथ मेरा साथी सहयोगीले गर्छन्।’
अहिले मन्त्री भए पनि सबै खर्च पहिले देखि नै केही शुभचिन्तक साथीहरूले पुर्याइदिएको उनले दाबी गरेका छन्। ‘मलाई ढुक्क छ। तलब भत्ता केही लिँदैन। कहीँ जाँदा हवाई जहाज टिकट, बस भाडा, ट्याक्सी भाडा म आफै तिर्ने हो,’ मन्त्री पुनले अगाडि लेखेका छन्।
केही कुरा विस्तृत रूपमा बुझ्न चाहने भए आफ्नो आत्मकथा पढ्न पनि उनले सुझाएका छन्।
प्रकाशित: १६ आश्विन २०८२ १४:१८ बिहीबार