प्रतिनिधि सभाका सांसद महाविर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका उनले संसद् सचिवालयले सार्वजनिक गर्दैन कि भन्ने शंका लागेर फेसबुकमा राखेको उल्लेख गरेका छन् ।
पुनको स्थायी ठेगाना चितवनको राप्ती नगरपालिका–८ स्थित खुरखुरे टोल रहेको छ । त्यहाँबाट आफूले नागरिकता प्राप्त गरेको उनले बताएका छन् । यस्तै, हाल कास्कीको हमालटोलमा भाडाको घरमा बसिरहेको उनले जनाएका छन् ।
सांसद पुनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा चार ठाउँ जग्गा देखिन्छ भने घर एउटा पनि छैन । आफू डेरामा बसिरहेको उनले बताएका छन् ।
यो रकम बेनीमा आफ्नो सम्पर्क कार्यालय सञ्चालन गर्न खर्च गरिरहेको उनले बताएका छन् । बाँकी चार लाख पनि साथीहरुबाट प्राप्त भएको र व्यक्तिगत खर्च गर्ने पुनको भनाइ छ ।
पुनको विरणमा उल्लेख भएअनुसार उनीसँग सवारीसाधन छैन भने बैंकमा सेयर पनि शून्य छ । आफ्नो आत्मकथा २ लाख ५० हजार प्रति बेचेर आएको पैसा आविस्कार केन्द्रको खातामा जम्मा गरिरहेको उनले बताएका छन् ।
पुनले भनेका छन्, ‘संघीय संसद सचिवालयलाई म प्रतिनिधिसभा सदस्य महावीर पुनले बुझाएको मेरो सारा भौतिक धन सम्पतिको विवरण हेर्नुहोस् । खासगरी महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र खोलेर र आफ्नो किताब बेचेर करोडौं पैसा थुपार्यो भन्ने विद्वानहरू र रिस गर्ने व्यक्तिहरूले यो हेर्नु होला र छानबिन गर्नु होला ।’
पुनका अनुसार उनले यो विवरण शिक्षामन्त्री हुँदा पनि बुझाएका थिए, तर उति बेलाको सरकारले सार्वजनिक गरिदिएन । उनले भनेका छन्, ‘यी भौतिक सम्पत्ति बाहेक मेरो अभौतिक र मूल्यांकन गर्न नसकिने अमूल्य र असीमित सम्पत्ति भनेको देश विदेशमा बसोबास गर्ने मेरो असंख्य सहयोगीहरू हुन् ।’

प्रकाशित: १६ वैशाख २०८३ १८:३८ बुधबार