राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले निर्वाचनमा मधेसका मतदाताले नयाँ दललाई भोट दिनुको मुख्य कारण ‘मधेसी प्रधानमन्त्री’ बन्ने आकांक्षा रहेको बताएका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
७० वर्षदेखि एउटै समुदायको कब्जामा रहेको कार्यकारी पदमा आफ्नो समुदायको व्यक्ति पुग्ने आशले मधेसी जनताले नयाँ अनुहारलाई मतदान गरेको उनको भनाइ छ।
अध्यक्ष महतोका अनुसार नेपालको कार्यकारी प्रमुख पदमा दशकौंदेखि निश्चित नश्लीय चिन्तन र एउटै समुदायको मात्र हालीमुहाली रहँदै आएको छ। मधेसी, आदिवासी जनजाति, दलित र मुस्लिम समुदायलाई उक्त पदबाट सधैँ वञ्चित गरिएको भन्दै उनले नयाँ पार्टीले मधेसी अनुहारलाई अघि सार्दा उत्पीडनमा परेका जनतामा ठूलो आशा जागेको बताए।
‘कार्यकारी पदमा पुगेपछि हाम्रा सम्पूर्ण समस्या समाधान होला, हाम्रा पीडा र उठाइएका सवालहरुको सम्बोधन होला भन्ने मनको आकांक्षा जनतामा देखियो,’ महतोले भने, ‘कुनै व्यक्ति वा अनुहारलाई पूजा गर्न भोट दिएका होइनन्, राज्यको सर्वोच्च पदमा आफ्नै मान्छे पुगेपछि ‘फास्ट ट्रयाक’ मा समस्या समाधान हुन्छ भन्ने आशले भोट हालेका हुन्।’
प्रकाशित: ११ चैत्र २०८२ १९:४५ बुधबार