राजनीति

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (शुक्रबार) विश्वासको मत लिँदै छन्। विश्वासको मत लिन आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ।

जनमत पार्टीले गत वैशाख २१ गते सरकारबाट समर्थन फिर्ता लिएपछि जेठ १ गते विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरिएको थियो। तर आफ्नै पार्टी कांग्रेसभित्र असन्तुष्टि र जसपाले विश्वासको मत दिने निर्णय नगर्दा उनी पछि हटेका थिए।

विश्वासको मत लिने पूर्वसन्ध्यामा मधेशको सत्ता समीकरण पनि फेरिएको छ। जसपा, जनमत, नेपाली कम्युनिस्ट पार्टीसहितको समीकरणको कांग्रेस नेतृत्वको सरकारमा नेकपा एमालेको प्रवेशसँगै सत्ता समीकरण फेरिएको हो।

हाल मधेस प्रदेश सभामा १०२ सदस्य कायम रहेका छन्। कांग्रेसको २२, एमालेको २४, जनमतको १२, नेकपाको १५, जसपा र लोसपा नेपालको २६, नागरिक उन्मुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र राप्रपाका १–१ जना सांसद छन्। यसअघि, मधेस प्रदेशसभामा १०७ जना सांसद थिए।

लोसपाका अभिराम शर्मा र जसपाका सरोजसिंह कुशवाहा निलम्बित छन् भने जनमतका सतिशकुमार सिंह, नेकपाका भरतप्रसाद साह र रहवर अन्सारी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुँदा प्रदेश सांसदबाट राजीनामा गरेका थिए। नेकपा एमालेका रामचन्द्र मण्डल पनि प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार हुँदा प्रदेश सभाबाट राजीनामा गरेका थिए।

प्रकाशित: ८ जेष्ठ २०८३ ०९:०१ शुक्रबार