जनकपुरधाम, २६ कात्तिकः मधेस प्रदेशसभाको बैठक यही कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि यही कात्तिक २८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको मधेस प्रदेशका सभामुख रामअशिष यादवले जानकारी दिए।
प्रदेशसभाको बैठक सञ्चालनका लागि भोलि कात्तिक २७ गते दिउँसो प्रदेशसभाअन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र सोही बैठकले कार्यसूची निर्धारण गर्ने सभामुख यादवले बताए।
मधेस प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।
प्रदेशसभाबाट यही कात्तिक २८ गते दिउँसो १ बजे विश्वासको मतका लागि प्रदेशसभा सचिवालयलाई मुख्यमन्त्री यादवले बुधबारपत्राचार गरेका थिए। विश्वास प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग संवाद जारी रहेको र विश्वास लिनुअघिसम्म संवाद जारी राख्ने मुख्यमन्त्री यादवले बताए।
नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी नेकपा एमालेका चार जना मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।
सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार जना मन्त्रीले यही कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन्।
सत्तारुढ दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले सरकार जोगाउन सक्रियता बढनाएका हुन्। एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ।
मधेस प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् । त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन्।
प्रकाशित: २६ कार्तिक २०८३ १५:४९ बिहीबार



