लगभग दुई तिहाइ मत पाएर राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को नेतृत्वमा गठित सरकारमा मधेसको प्रतिनिधित्वलाई लिएर विभिन्न टिप्पणी भइरहेको छ। सामाजिक सञ्जालमा समेत मधेसप्रति यो सरकारको रबैया विगतभन्दा फरक नरहेको टिप्पणी देख्न सकिन्छ।
रास्वपाले मन्त्रीहरूको सूची तयार पार्दा मधेसबाट दुईवटा नाम चर्चामा थियो। पहिलो रास्वपाका प्रवक्तासमेत रहेका मनीष झा र दोस्रो अमरेशकुमार सिंह। झा रास्वपाबाट प्रतिनिधिसभा सदस्य दोहो¥याएका छन्। चर्चामा रहेका यी दुवैजना बालेन सरकारको मन्त्रिमण्डलमा अटाएनन्। मधेसबाट रास्वापले प्रत्यक्षतर्फ ३२ सिटमा ३० सिट जितेको छ, तर मन्त्री बन्नेमा दीपक साह मात्र परेका छन्।
मन्त्रीहरूको शपथ ग्रहणलगत्तै रास्वपा प्रवक्तासमेत रहेको सांसद झाले सामाजिक सञ्जालमा आफ्नो भावना यसरी व्यक्त गरेका छन्– यो ऐतिहासिक अवसरप्रति मन्त्रिपरिषद् बफादार रहनेछ भन्ने पूर्ण विश्वास छ। सरकारलाई सत्कर्ममा मेरो इमानदार र जिम्मेवार साथ सहयोग रहने छ। मप्रतिको सरोकारसहित तपाईंहरू सबैबाट व्यक्त साथ, सहयोग र सद्भावप्रति सधैं मेरो उच्च सम्मान छ र सधैं रहनेछ। म थप मेहनतसहित राजनीतिक कर्ममा निरन्तर लागिरहने छु, मेहनत गरिरहने छु। जनप्रतिनिधिका रूपमा आफ्नो भूमिकालाई थप सशक्त बनाउँदै सदनमा आवाज उठाइरहने छु।’
मन्त्रीको दौडमा रहे पनि चाहेअनुसारको मन्त्रालय नपाएपछि सरकारमा सहभागी नभएको भनिएका अमरेशकुमार सिंहले बालेन्द्र नेतृत्वको सरकारलाई बधाई दिएका छन्। बालेन सरकारले देशबासीको अपेक्षा पूरा गर्ने उनले विश्वास व्यक्त गरेका छन्।
नवनियुक्त प्रधानमन्त्री शाहको पुर्ख्यौली गाउँमा शुक्रबार उत्सव मनाइएको छ। महोत्तरीको एकडारा गाउँपालिका– १ स्थित पुख्र्यौली गाउँ एकडारामा गाउँवासीले उत्सव मनाएका हुन्।
एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलले शाह देशकै प्रमुख कार्यकारी पद (प्रधानमन्त्री) मा नियुक्त हुँदा जिल्लामै खुसीयाली मनाइएको बताए। ‘एकडारा– १ मात्र होइन, जिल्लावासीले नै खुसियाली साटासाट गर्दै उत्सव मनाइरहेका छन्’, उनले भने।
प्रधानमन्त्री शाहको घर एकडारा– १ मा पर्छ। उक्त घरमा हाल एकडारा गाउँपालिकाको कार्यालय सञ्चालनमा छ। शुक्रबार साँझ एकडाराको घरघरमा दीपावली मनाउने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष मण्डलले बताए।
यो मन्त्रिमण्डल समावेशी देखिएपनि प्रादेशिक सन्तुलन नमिलेको मधेस राजनीतिका विश्लेषक चन्द्रकिशोरको विश्लेषण छ। उनी भन्छन्, ‘बालेनजीको सिंहदरबार प्रवेशको यात्रा मधेस प्रदेश भएर गुज्रिएको छ। अर्थात् मधेस प्रदेशको अपेक्षित एवं आश्चर्यजनक सहयोगविना उनको सिंहदरबार प्रवेशको यात्रा कठिन मात्र होइन सम्भव थिएन, तर मन्त्रिमण्डल गठन हुँदा मधेसकै केही वरिष्ठ नेताहरू पनि नसमेटिँदा खल्लो देखिएको छ। मधेसको उपस्थिति क्याबिनेटमा बढी हुनुपर्ने थियो।’
यो मन्त्रिपरिषद् समावेशी देखिए पनि प्रादेशिक सन्तुलन नमिलेको उनको भनाइ छ। ‘मधेसी, मुस्लिम, मधेसी दलितको सन्तुलन मिलेको छैन। मधेसले जसरी बालेनलाई प्रधानमन्त्री बनाउन मत खन्यायो र सिंहदरबारको बाटो सहज बनाइदियो त्यसअनुसार मधेसले सरकारमा सहभागिता वा हिस्सेदारी पाउन नसक्नुले सन्तुलन नमिलेको देखिएको हो’, चन्द्रकिशोरले भने।
मधेसले पहिलोपटक बालेनमार्फत कार्यकारी प्रमुखको चेहरा पाएको चन्द्रकिशोरको विश्लेषण छ। अर्को कुरा, बालेनमार्फत मधेसले राज्यसँग गर्न खोजेको अनुबन्धको काउन्ट डाउन सुरु भएको उनले बताए।
प्रकाशित: १४ चैत्र २०८२ १२:२४ शनिबार