राजनीति

मधेसका मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिने

कांग्रेस, एमालेसँग पनि मागे विश्वासको मत

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनल (सोनार)ले कात्तिक २२ गते मधेस प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री सोनलसहित सत्तारूढ सात दलको बिहीबार बिहान बसेको बैठकपछि विश्वासको मत लिने निर्णय भएको हो। तथापि अहिलेसम्म प्रदेश सभालाई विश्वासको मत लिनेबारे औपचारिक जानकारी गराइसकिएको छैन।

जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले सरकारमा सहभागी दलहरूको बैठकबाट कात्तिक २२ गते विश्वासको मत लिने र त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार विश्वासको मतका लागि कांग्रेस र एमालेसँग समेत आग्रह गर्ने तयारी भएको छ। सरकार गठन गर्ने बेला नै धेरै कुरा स्पष्ट भएकाले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने उनको भनाइ छ।

सोनल ५ दलका ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। अहिले सरकारलाई नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीले समेत समर्थन गरेको छ। दुवै पार्टीबाट प्रदेशसभामा एक/एक जना सदस्य छन्। यी दुई पार्टीले समर्थन गरेपछि सोनल सरकारलाई ५७ जना प्रदेशसभा सदस्यको समर्थन मिलेको छ।  

१०७ सदस्यीय प्रदेश सभामामा तीन जना निलम्बन भएपछि हाल १०४ जना प्रदेशसभा सदस्य कायम छन्। सोनल नेतृत्वको सरकारलाई बहुमतका लागि प्रदेश सभामा कायम रहेका सदस्यको बहुमत (५३ सदस्य) आवश्यक छ।

सरकारमा सहभागी रहेका जसपा नेपालका १८ जना(एक जना निलम्बित), जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा (एकीकृत समाजवादी)का ७ जना र नागरिक उन्मुक्ति पार्टी तथा नेपाल संघीय समाजवादी पार्टीका एक/एक जना प्रदेशसभा सदस्य रहेका छन्।

प्रकाशित: १३ कार्तिक २०८२ १२:३२ बिहीबार